गठबन्धनले हामीलाई बहुत अपमान गर्‍याे : झलनाथ खनाल

 असार ८, २०७९ बुधबार १७:५६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले गठबन्धनले आफ्नो पार्टीको अपमान गरेको आरोप लगाउनुभएको छ । 

आज बुधवार समाजवादी प्रेस सङ्गठन नेपाल जिल्ला शाखा काठमाण्डाैले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धनकै कारण आफ्नो पार्टीले ल्याउने जति सिट र मत प्राप्त गर्न नसकेको दाबी गर्नुभयो । 

सम्मानित नेता खनालले भन्नुभयो, ‘गठबन्धनले हामीलाई बहुत अपमान गर्‍याे । अपमानपूर्ण ढङ्गले व्यवहार गरिएको हुनाले हामीले प्राप्त गर्नुपर्ने जति मत पनि प्राप्त गर्न सकेनौँ । त्यति सिट पनि प्राप्त गर्न सकेनौँ । यी कमजोरीलाई समीक्षा गरेर अघि बढ्नुपर्ने आवश्यकता छ । थोरै सङ्ख्या भए पनि हामी आगोको फिलुङ्गो जस्तै हो ।’

नेता खनालले अहिले नौ लाख मतदाता पार्टीमा रहेको भने पनि त्यो सङ्ख्या झन्डै २० लाख रहेको बताउनुभयो । उहाँले अहिलेको पालिका चुनावमा प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्दै देशको हितका लागि नमुना काम गर्नुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया