बागबजारमा भाँडोमा भरेर राखेको पानीमा हैजा फैलाउने जीवाणु भेटियो, पानीको स्रोतमै परीक्षण गरिँदै

 असार ९, २०७९ बिहिबार ८:५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाैको बागबजारका भाँडोमा थापेर राखेको धारा र ट्युबवेलको पानीमा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको छ ।

इकोली र कोलीफर्म भएको पानी खाएकै कारण दुई जना दिदीबहिनीलाई हैजा भएको स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुले पिउने पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको छ । धारा र ट्युबवेलबाट आएको पानीको नमुना परीक्षण गर्दा हैजामा पाइने जीवाणु भेटिएको उहाँले बताउनुभयो ।

भाँडोमा राखेको पानीको नमुना परीक्षणमा हैजा फैलाउने जीवाणु भेटिएकाले धाराको पानी र ट्युबवेलको पानीको स्रोतमा नै परीक्षण गर्न लागिएको डाक्टर चुमनलाल दासले बताउनुभयो । उहाँका अनुसार पानीको स्रोत र वितरण केन्द्रमा नमुना परीक्षणका लागि टोली खटिसकेको छ ।

हैजा देखिएको बागबजार क्षेत्रका अन्यमा भने अहिलेसम्म हैजाको लक्षण देखिएको छैन । तर, जोखिम उच्च रहेकाले वरिपरिका नागरिकलाई निगरानीमा राखिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले जानकारी दिनुभयो । यस्तै, काठमाण्डौको टेकु अस्पतालमा उपचाररत अन्य दुई जनामा पनि हैजा पुष्टि भएकाले उपत्यकामा भित्रभित्रै हैजा फैलिएको हुनसक्ने आशङ्का गरिएको छ । 

यस्तै, उपचारमा रहेका अर्का व्यक्तिमा पनि हैजाको आशङ्का गरिएको छ । जोखिमयुक्त क्षेत्रमा पनि पानीको नमुना परीक्षण भइरहेको उहाँले बताउनुभयो । ठाउँ ठाउँमा हैजाको सङ्क्रमण देखिन थालेकाले काठमाण्डौमा हैजा फैलने जोखिम बढेको छ ।

खानपान र सरसफाइमा ध्यान नदिए प्रकोपकै रुपमा फैलने भन्दै सचेत रहन आग्रह गरिएको छ । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार सामान्यतया १० जनामा हैजाको सङ्क्रमण हुँदा दुई जना अस्पताल पुग्नु पर्ने अवस्था आउँछ । काठमाण्डौमा अहिले चार जनामा नै हैजा पुष्टि भइसकेको छ । त्यसैले हैजा फैलिएको हुन सक्ने आशङ्का गरिएको छ । छिटो फैलिने भएकाले एक जनामा हैजा देखिए पनि यसलाई ठूलो जोखिम  मानिन्छ । भाइब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ ।

सङ्क्रमण भएको एक घन्टादेखि पाँच दिनसम्म लक्षण देखिन्छ । तारन्तार चौलानी जस्तो सेतो पानी जस्तो देखिने दिसा लाग्ने, शरीर कमजोर हुने मांसपेशी बाउँडिने, बान्ता हुने र थकाइ महसुस हुने हैजाका लक्षण हुन् । यस्ता लक्षण देखिनासाथ घरमै प्राथमिक उपचार सुरु गरी तुरुन्त अस्पताल जानु पर्ने डाक्टर बताउँछन् ।

प्राथमिक उपचारका क्रममा घरमै जीवनजल र झोलिलो नुनिलो खाने कुरा खान सकिन्छ । डाक्टरका अनुसार हैजा लागेको बिरामीको समयमा नै उपचार नभए ज्यान जाने खतरा हुन्छ । बर्खाको समयमा हैजालगायतका सरुवा रोगको जोखिम उच्च हुने भएकाले खानपान र सरसफाइमा ध्यान दिन डाक्टरको सुझाव छ ।

उमालेको वा शुद्धीकरण गरिएको पानी पिउन, स्वस्थ खानेकुरा खान र दिसा गरेपछि र खाना खानु अघि राम्रोसँग साबुन पानीले हात धुन डाक्टरको सल्लाह छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया