गठबन्धनका कारण जितिन्छ भनेर अल्छी गर्दा पालिका चुनावमा तेस्राे हुनुपर्‍याे : प्रचण्ड

 असार ९, २०७९ बिहिबार १४:३८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

ललितपुर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठनबन्धनका कारण चुनाव जितिन्छ भनेर ढुक्कले बस्दा पालिका चुनावमा तेस्राे हुनुपरेको बताउनुभएको छ ।

जनप्रतिनिधिका लागि ललितपुरमा आज बिहीवार भएको प्रशिक्षण कार्यक्रममा प्रचण्डले गठबन्धन भएपछि जितिन्छ भनेर नेता/कार्यकर्ताले मेहनत नगर्दा तेस्रो स्थानमा खुम्चिनुपरेको बताउनुभएको हो । ‘गठबन्धन भइहाल्छ भनेर रिल्याक्स गर्दा पनि धेरै स्थानीय तहमा चुनाव हारियो, पहिले जितेकामध्ये ५० प्रतिशत पालिका गुमाएका छौँ, अब हुने चुनावमा त्यस्तो गल्ती गर्न हुँदैन’, प्रचण्डले भन्नुभयो ।

उहाँले आउँदो प्रदेश र सङ्घको चुनावमा कम्युनिस्ट पार्टीभित्रको पहिलो शक्ति हुने दाबी गर्दै नेता/कार्यकर्तालाई अहिलेदेखि नै चुनावको तयारीमा लाग्न निर्देशन दिनुभयो । नागरिकको घरदैलामा गएर अहिलेसम्मका उपलब्धि माओवादीकै कारण आएको बुझाउन निर्देशन दिँदै प्रचण्डले प्रचारप्रसार र सङ्गठन सृदृढीकरणमा लाग्न आग्रह गर्नुभयो ।

उहाँले पालिका चुनावमा हार्नुकाे कारण लोकप्रिय उम्मेदवार नहुनु बताउँदै अब भने सही उम्मेदवार चयन गरेर सङ्घ र प्रदेशको चुनावमा जानुपर्ने बताउनुभयाे ।  

अध्यक्ष प्रचण्डले राजनीतिको चाबी माओवादीकै हातमा रहेको जिकिर गर्दै माओवादीको सहयोगविना कुनै पनि दलले सत्ता र शक्ति प्राप्त गर्न नसक्ने दाबी गर्नुभयो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया