गाँजा खेतीसम्बन्धीको विधेयक छलफलमा ल्याइयोस् : सांसद तामाङ

 असार ९, २०७९ बिहिबार १५:४९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक तत्काल छलफलमा ल्याउन माग गर्नुभएको छ ।

उहाँले नै विसं २०७६ फागुन १० गते नै त्याे विधेयक सदनमा दर्ता गर्नुभएको थियो । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा उहाँले दर्ता विधेयकको कपी चार दिनभित्र सांसदहरूलाई दिनुपर्ने कानुनी व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

विधेयक दर्ता भएको दुई वर्ष पाँच महिना १६ दिन बितिसकेको उल्लेख गर्दै सांसद तामाङले छलफलमा नल्याएर जनप्रतिनिधिको अधिकार हनन गरिएको बताउनुभयो । उहाँले गाँजा औषधिजन्य वनस्पति भएको प्रमाणित भइसकेको र एचआईभी, क्यान्सरलगायत धेरै रोगको पीडा कम गर्ने औषधि हुनसक्ने भएकाले गाँजा खेतीलाई वैधानिक बनाउनेतर्फ अघि बढ्न आग्रह गर्नुभयो ।

उहाँले सांसदले उठाएका र समितिले दिएका निर्देशन आठ प्रतिशतभन्दा बढी कार्यान्वयन नदेखिएको भन्दै सांसदले उठाएका विषय संसद्ले कति कार्यान्वनय गर्‍याे भनी प्रश्न गर्नुभयो । 

सांसद तामाङले देशमा रोजगारीको सिर्जना हुन नसकिरहेको अवस्थामा नेपाली युवा आकाशबाट जाने र बाकसमा आउने दर्दनाक अवस्था रहेको दुःखेसो पोख्नुभयो । यस अवस्थामा त्याे विधेयक पारित भए युवाले रोजगारी पाउने विश्वास व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया