वीरगञ्ज महानगरद्वारा झण्डै ३ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत

 असार १०, २०७९ शुक्रबार १६:२७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आर्थिक वर्ष २०७९/८० का लागि वीरगञ्ज महानगरपालिकाले बजेट प्रस्तुत गरेको छ । वीरगञ्ज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले नगर सभाको ११ औं अधिवेशनमा ३ अर्ब ३३ करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।

बजेटमा चालुतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार रुपैयाँ अर्थात ६२ दशमलव ०४ प्रतिशत रकम र पूँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार रुपैयाँ अर्थात ३७ दशमलव ९६ प्रतिशत रकम छुट्याइएको छ । महानगरले शिक्षा, युवा तथा खेलकुदमा ६६ करोड ३८ लाख ३५ हजार, स्वास्थ्य तर्फ १ करोड २० लाख ३० हजार, कृषि तर्फ ३ करोड २६ लाख ९० हजार, पूर्वाधार तर्फ १ अर्ब १९ करोड ९३ लाख, सामाजिक विकास तर्फ ९९ करोड ३५ लाख ७९ हजार रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै सूचना प्रविधि र सञ्चारतर्फ १ अर्ब ५ करोड ९५ लाख, सेवा प्रवाह संगठन सुदृढीकरणतर्फ ९३ करोड ५३ लाख २१ हजार, सरसफाइ व्यवस्थापनमा ८ करोड ९१ लाख रुपैयाँ विनियोजन गरेको छ । 

त्यसै गरी वन तथा वातावरण र विपद व्यवस्थापनका लागि ५ करोड ९९ लाख, आर्थिक विकासका लागि १० करोड ४२ लाख ९० हजार रुपैयाँ, महिला, बालबालिका तथा जेष्ठ नागरिक र अपांगता, संस्थागत विकास, राजश्व तथा अन्य आय संकलन व्यवस्थापनका लागि पनि बजेटको व्यवस्था गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया