उच्च शिक्षा देशको स्रोत-साधनलाई पहिल्याइ जनशक्ति तयार गर्नेतर्फ केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

 असार १०, २०७९ शुक्रबार १७:२५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताउनुभएको छ । उहाँले उच्च शिक्षा देशको स्रोत, साधन, सम्भावना, आवश्यकता र प्राथमिकतालाई पहिल्याइ जनशक्ति तयार गर्नेतर्फ केन्द्रित हुनुपर्नेसमेत बताउनुभएको छ ।

लुम्बिनीमा आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको द्वीतीय दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवाले  बुद्धले प्रतिपादन गर्नुभएको आर्यअष्टाङ्गिक मार्ग लगायतका सूत्रात्मक शिक्षा आजको २१ औँ शताब्दीमा पनि महत्वपूर्ण रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र रहेको बताउनुभयो । उहाँले बौद्ध दर्शन, कला, शिक्षा, साहित्य तथा संस्कृतिको मूल स्रोतका रुपमा आफूलाई सिद्ध गर्नुपर्ने चुनौती पनि हामीमा रहेको बताउनुभएको छ । यसैबीच शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेलले सरकारले शिक्षामा गरेको लगानीलाई देशको विकासमा जोड्नुपर्ने बताउनुभएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको द्वीतीय दीक्षान्त समारोहमा उहाँले विश्वविद्यालयबाट उत्पादित जनशक्ति देश विकासमा जोडिने वातावरण निर्माण हुन आवश्यक रहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया