प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको ओलीकाे आरोप

 असार १०, २०७९ शुक्रबार १८:१३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाउनु भएको छ । 

अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमान्दारिताका साथ काम नगर्दा पार्टीले विभाजन बेहोर्नु परेको बताउनु भएको हो । शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले बडो दु:खका सफलता हात परेको पार्टीलाई प्रचण्डले प्रतिक्रियावादीसामु अर्पण गर्दा आफूलाई दुःखित बनाएको गुनासो पनि गर्नुभयो ।

पार्टी एकताका बेला दिएको सिट संख्यालाई चरम दुरुपयोग गरेर प्रचण्डले आफूलाई साधारण सदस्यबाट समेत निश्काशन गरे पनि आफूले त्यसलाई जोगाएर अघि बढाएको ओलीको दाबी थियो । उहाँले भन्नु भयो, ‘हामीले प्रचण्डलाई लखेटेको होइन । प्रचण्डसँग त एकता नै गरिएको हो । तर प्रचण्डले एकता गर्दा पनि इमान्दारिताका साथ गर्नु भएन । एकताबद्ध रहँदा पनि इमानका साथ काम गर्नु भएन । र, बेईमानपूर्ण ढंगले हट्नुभयो । पार्टी अध्यक्षमाथि गम्भिर आरोपको पुलिन्दा बनाउनु भयो उहाँले । र, ती आरोपका साथ पार्टी विभाजनको खेती गर्नु भयो ।’

ओलीले चरम सत्ताको दुरुपयोग गरेर पालिका तह चुनावमा आफ्नो पार्टी केही पछि परे पनि आगामी दिनमा जित सुनिश्चित रहेको दाबी गर्नु भयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया