चोरी भएर अमेरिका पुगेको प्रस्तरको तारा र पार्वतीको प्राचीन मूर्ति फिर्ता

 असार ११, २०७९ शनिबार ८:२४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्विक महत्त्वको प्रस्तरको तारा र पार्वतीको प्राचीन मूर्ति फिर्ता गरिएको छ । नेपाल फिर्ता भएका ती मूर्ति पुरातत्व विभागले सार्वजनिक गरेको छ । फिर्ता भएको मूर्तिको तौल ८३ किलोग्राम छ ।

समभङ्ग मुद्रामा उभिएको कला शैलीको हिसाबले आरम्भिक मध्यकालको, हातमा नालसहितको कमलको फूल लिएको स्वरूपमा नवौँ र दशौँ शताब्तीतिर बनेको मूर्ति फिर्ता भएको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिनुभयो । यो मूर्ति भक्तपुर नगरपालिका–७ गोलमढी टोलमा रहेकाे वीरभद्रेश्वर मन्दिरमा स्थापित थियो ।

यो मूर्ति सन् १९७६ तिर चोरी भइ विभिन्न माध्यम हुँदै सन् २०१५ मा अमेरिकाको कनेक्टिकटमा रहेकाे याले विश्वविद्यालयको आर्ट ग्यालरीले प्राप्त गरेको थियो । मूर्तिको उत्पत्तिस्थल नेपाल भएको आधारमा विश्वविद्यालयको आर्ट ग्यालरी फिर्ता गर्न तयार भएको थियो ।

मूर्ति नेपाल ल्याउन बीमा र ढुवानीको खर्चसमेत विश्वविद्यालयले नै व्यवस्था गरेको हो । अमेरिकाको सहयोगमा गएको जेठ महिनामा चतुर्मुखी शिवलिङ्ग, प्रस्तरको उमामहेश्वरको मूर्ति, प्रस्तरको नागराजको मूर्ति, पद्मपाणि लोकेश्वर अर्थात बोधिसत्व अवलोकितेश्वर मूर्ति र प्रस्तरको शाक्यमुनिको मूर्ति पनि नेपाल फिर्ता भएको थियो ।

प्रस्तरको चतुर्मुखी शिवलिङ्ग विशेष प्रकारको छ । तीन तहको यो मूर्तिमा ब्रह्मभाग, विष्णुभाग र शङ्करभाग छ । खम्बामाथि बनेको यो मूर्ति सन् १९८० को आसपासमा पशुपति क्षेत्रबाट हराएको थियो । प्रस्तरको उमामहेश्वरको मूर्ति ललितपुर महानगरपालिका–११ गाःहिटी टोलमा रहेको थियो । यो मूर्ति सन् १९६० मा हराएको हो । यो मूर्ति १०औँ शताब्दीको हो । यो मूर्ति अमेरिकाको डेनभर आर्ट सङ्ग्रहालयको एसिया सङ्कलनमा भेटिएको थियो ।

प्रस्तरको नागराजको मूर्ति १२औँ वा १३औँ शताब्दीको हो । यो मूर्ति सन् १९८२ मा नक्साल क्षेत्रबाट हराएको हो । पद्मपाणि लोकेश्वर अर्थात बोधिसत्व अवलोकितेश्वर मूर्ति सन् १९५० तिर हराएको विभागले जनाएको छ ।

यो मूर्ति अमेरिकाको एक निजी कम्पनीको सङ्कलनमा रहेको थियो । प्रस्तरको शाक्यमुनिको मूर्ति पनि सन् १९५० कै दशकमा हराएको हो । यूपीएस कार्गोले यी मूर्ति निःशुल्क फिर्ता गराउन सहयोग गरेको विभागका महानिर्देशक गौतमले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया