स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्य्राइँ नगर्न डाक्टरको सल्लाह

 असार १३, २०७९ सोमबार १०:१३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गर्मी र झरीको यो बेला हैजा, झाडापखाला लगायतका अरु सरुवा रोगको जोखिम भएकाले सावधानी अपनाउन डाक्टरले आग्रह गरेका छन् ।

काठमाण्डौ उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले सचेत हुन उनीहरुको आग्रह छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार स्वास्थ्य सावधानीमा लापरबाही गरेकै कारण हैजा फैलिएको हो ।

अहिले हैजासँगै टाइफाइड, जन्डिस, कोरोना, डेङ्गी लगायत सरुवा रोगको पनि जोखिम हुने भएकाले स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्य्राइँ नगर्न उहाँको आग्रह छ । पछिल्लोपटक भारतमा कोरोना सङ्क्रमण बढेपछि नेपालमा पनि सङ्क्रमणदर बढेको छ । यस्तै काठमाण्डौमा हैजाका बिरामी बढेका छन् ।

पछिल्लो पटक पाटन र नैकापमा पनि हैजाका बिरामी भेटिएसँगै काठमाण्डौ उपत्यकामा फरक–फरक नौ ठाउँमा गरी १० जना हैजाका बिरामी भेटिएका छन् । यसअघि बागबजार, डिल्लीबजार, थानकोट, बालाजु, बल्खु, कपन र सानेपामा हैजाका बिरामी भेटिएका थिए ।

फरक–फरक ठाउँबाट हैजाका बिरामी भेटिएपछि काठमाण्डौ उपत्यकामा हैजा फैलिएको हुन सक्ने आशङ्कामा बिरामीको खोजी, पानी परीक्षण लगायतका कामलाई तीव्रता दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता सङ्गीता कौशल मिश्राले बताउनुभयो ।

हैजाबाट बच्ने तथा रोकथामका उपायहरुबारेमा माइकिङ गर्ने लगायतका काम भइरहेको पनि उहाँले बताउनुभयो । उहाँले केही पटक पखाला लाग्नसाथ स्वास्थ्य संस्थामा जान पनि अनुरोध गर्नुभयो ।

हैजा खानपानका माध्यमबाट सर्ने भएकोले पानी उमालेर मात्रै पिउन, सकेसम्म घरबाहिर गएर नखान, सरसफाइमा ख्याल गर्न र घरमा कसैलाई हैजाको लक्षण देखिएमा परिवारका अरु सदस्य पनि सचेत भएर बिरामीलाई अस्पताल लगिहाल्न डाक्टरको सल्लाह छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया