ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आफ्नै खर्चमा एमबीबीएस पढाउने

 असार १३, २०७९ सोमबार ९:१०:३९ | रासस
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबीबीएस’ पढाउन आर्थिक  सहयोग गर्ने भएको छ  । यसका लागि उसले पाँच वर्ष  गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ ।  यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ ।  

गएकाे शुक्रवार मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो । गाउँपलिकाले एमबीबीएस पढाउन सहयोग गर्न लागेको प्रवक्ता चन्द्रकुमार तामाङले बताउनुभयो । 

आउँदाे २०७९/८० आर्थिक वर्षको बजेटबाट एमबीबीएस  पढाउनको लागि २० लाख रुपैयाँ बजेटसमेत गाउँपालिकाले विनियोजन गरेको उहाँले बताउनुभयो । गाउँपालिकाभित्रका विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षामा उत्तीर्ण हुने एक विद्यार्थीलाई गाउँपालिकाले पढाइमा लाग्ने खर्च तथा अन्य खर्चसमेत गाउँपालिको उपलब्ध गराउने प्रशासकीय अधिकृत देवी तुम्बापोले जानकारीदिनुभयो । 

उहाँले भन्नुभयो, 'एमबीबीएस पढाउनका लागि गाउँपालिकाले पहिलोपटक २० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रत्येक वर्ष बजेट विनियोजन गर्दै जाने छ ।'

सुगमदेखि दुर्गममा गाउँमा डाक्टर आउन नमान्ने र आइहाले पनि लामो समय नबस्ने भएकाले आफ्नै गाउँबाट डाक्टर उत्पादन गर्नतिर लागेको मैवाखोलाका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो। 

पालिकाभित्रका ज्येष्ठ नागरिक अपाङ्गता भएका नागरिकका लागि प्रत्येक महिना घरमै स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि उपचार गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका केन्द्र साँघुमा एक जना एमबीबीएस डाक्टरको पदपूर्ति गर्ने र फार्मेसी सेवासमेत सञ्चालन गर्न गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । 

गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र अतिविपन्न नागरिकलाई नेपालभित्रका जुनसुकै स्वास्थ्य संस्थासम्म पुर्याउन न्यूनतम सेवा शुल्कका आधारमा सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको  छ।

अन्तिम अपडेट: चैत २०, २०८०

तपाईको प्रतिक्रिया