सोलुखुम्बुमा ५ प्रतिशत उम्मेदवारले मात्रै बुझाए चुनावी खर्च विवरण

 असार १३, २०७९ सोमबार १२:४८:१५ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुका ५ प्रतिशत निर्वाचित जनप्रतिनिधि तथा उम्मेदवारहरुले मात्रै चुनाव खर्च विवरण पेस गरेका छन् ।

गएकाे वैशाख ३० गते सम्पन्न पालिका चुनावका ५ दशमलव ७ प्रतिशत अर्थात ४७ जना उम्मेदवार तथा निर्वाचितहरुले मात्रै चुनाव खर्च विवरण पेस गरेका जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्लाको माप्यदूधकोशी गाउँपालिकाका निर्वाचित अध्यक्ष बुद्धि किरण राई र उपाध्यक्ष गौरव राईसहित २९ जनाले खर्च विवरण पेस गरेको कार्यालयका सूचना अधिकारी नेत्रप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

यस्तै सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा र उपमेयर गान्धी माया तामाङसहित ८ जना, नेचासल्यान गाउँपालिका अध्यक्षका प्रत्यासीहरु डुफकुमार बास्तोला र विष्णुप्रसाद बास्तोला र महाकुलुङ गाउँपालिका अध्यक्षका उम्मेदवार भक्त राई र उपाध्यक्षका उम्मेदवार शुभधनी राईसहित जना ८ जनाले खर्च विवरण पेस गरेको कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ र स्थानीय तह निर्वाचन नियमावली २०७३ बमोजिम मत परिणाम घोषणा भएको ३० दिनभित्र विजयी तथा पराजित सबै उम्मेदवारहरुले अनिवार्य रुपमा निर्वाचन खर्च पेस गर्नुपर्ने प्रावधान रहेको छ । तोकेको समयभित्र खर्च विवरण पेस नगरेका उम्मेदवारहरुकोे नाम कारबाहीका लागि सिफारिस गर्न निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयहरुलाई पत्राचार गरेको छ ।

गएकाे वैशाखमा सम्पन्न चुनावमा सोलुखुम्बुमा ८ सय ७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । जसमा सोलुदूधकुण्ड नगरपालिकामा १ सय ८९, थुलुङ दूधकोशी गाउँपालिकामा १ सय ४४, नेचासल्यानमा ९३, सोताङमा ८०, महाकुलुङमा ८०, माप्यदूधकोशीमा ८५, खुम्बु पासाङ ल्हामुमा ६२ र लिखुपिकेमा ८५ जना उम्मेदवारहरु चुनावी मैदानमा रहेका थिए ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया