नेपाली क्रिकेट टाेलीकाे बिदाइ

 असार १३, २०७९ सोमबार १८:४५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – क्यानडासँगकाे दुई एकदिवसीय खेल र आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड भ्रमण गर्न लागेको राष्ट्रिय क्रिकेट टोलीलाई आज साेमवार बिदाइ गरिएको छ । 

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमवार एक कार्यक्रमको आयोजना गरेर सन्दीप लामिछानेको कप्तानीमा रहेको १४ सदस्यीय क्रिकेट टोलीको बिदाइ गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंहलगायतले बिदाइ गरे । 

नेपाली टोलीले आउँदाे असार २९ गतेदेखि स्कटल्यान्डमा हुने विश्व कप लिग–२ र त्याे प्रतियोगिताअघि क्यानडामा रहेको स्थानीय एक क्लबसँग अभ्यास खेल तथा क्यानडाको राष्ट्रिय टोलीसँग हुने एकदिवसीय खेल खेल्ने तालिका छ ।

नेपालले स्कटल्यान्डमा लिग–२ अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ । नेपालले त्यसअघि क्यानडामा मैत्रीपूर्ण खेल खेल्नेछ । स्कटल्यान्डमा हुने शृङ्खलाकाे पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ । नेपाल र नामिबियाबीचको खेल जुलाई ११ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल स्कटल्यान्डसँग जुलाई १३ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियासँग जुलाई १६ र अन्तिम खेलमा स्कटल्यान्डसँग जुलाई १७ मा खेल्ने तालिका रहेको छ ।

नेपाल लिग–२ तालिकाको पाँचौँ स्थानमा छ । नेपालले १६ खेलबाट सात जित, आठ हार र एक 'टाइ' सहित १५ अङ्क जोडेको छ । तालिकाको दोस्रो स्थानमा रहेको स्कटल्यान्डले २० खेलबाट २८ अङ्क जोड्दा छैटौँ स्थानमा रहेको नामिबियाले १४ खेलबाट १४ अङ्क जोडेको छ । आईसीसी विश्व कप क्रिकेट लिग २ मा अब नेपालले २० खेल खेल्न बाँकी छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया