भरतपुर–बर्दघाट प्रसारण लाइनकाे केही खण्ड सञ्चालनमा, पश्चिम क्षेत्रको बिजुली आपूर्तिमा सुधार हुने

 असार १४, २०७९ मंगलबार १३:३०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको केही खण्ड सञ्चालनमा आएको छ ।

चितवनको भरतपुर महानगरपालिका ११ आँपटारी सबस्टेशनबाट नवलपरासीको अरुण खोलासम्मको झन्डै ५६ किलोमिटर प्रसारण लाइनमा सोमवार विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो ।

नवलपरासीको दुम्कीबासमा भइरहेको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत् पठाउन नसक्ने अवस्था आएपछि प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरेको हो । ७४ किलोमिटर प्रसारण लाइनमा पर्ने दुई सय ४६ वटा टावरमध्ये दुई सय ४४ वटाको निर्माण गरी तार टाँगिएको छ ।

भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको लाइनलाई अरुण खोलामा ट्यापिङ गरी अहिले सञ्चालनमा रहेको १३२ केभी प्रसारण लाइनमा जोडिएको छ । भरतपुर–बर्दघाट १३२ केभी प्रसारण लाइनलाई अरुण खोलामा छुट्याएर भरतपुर–बर्दघाट २२० केभीको लाइनसँग जोडिएको हो । भरतपुर सबस्टेशनबाट अरुण खोलासम्म २२० केभीको नयाँ लाइनबाट र त्यसपछि १३२ केभीको पुरानो लाइनबाट बर्दघाट सबस्टेशनसम्म विद्युत् प्रवाह हुने छ ।

अब अरुण खोला पूर्वतर्फका कावासोतीलगायतका क्षेत्रमा पुरानो १३२ केभी प्रसारण लाइनबाट प्रगतिनगर सबस्टेशनमार्फत विद्युत् आपूर्ति हुने छ । ती क्षेत्रमा झन्डै २५ मेगावाट विद्युत् खपत हुने गरेको छ ।

पुरानो १३२ केभी लाइनबाट कावासोतीलगायतका क्षेत्रमा विद्युत् आपूर्ति भएपछि सोमवारदेखि सञ्चालनमा आएको लाइनमार्फत भरतपुरबाट बर्दघाटतर्फ झन्डै एक सय मेगावाट विद्युत् सिधै पठाउन सकिने छ । पहिले भरतपुर–बर्दघाट १३२ केभी लाइनबाट कावासोती क्षेत्रमा विद्युत् आपूर्ति गरी बाँकी विद्युत् बर्दघाटतर्फ प्रवाह हुन्थ्यो ।

अहिले चालु रहेको भरतपुर–बर्दघाट १३२ केभी प्रसारण लाइन सिङ्गल सर्किट मात्रै छ । जसले गर्दा भरतपुरबाट बर्दघाटतर्फ झन्डै ८० मेगावाटभन्दा बढी विद्युत् पठाउन नसकिने बाध्यात्मक अवस्था थियो । भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड चार्ज गरी कावासोतीलगायतका क्षेत्रको झन्डै २५ मेगावाट लोड शिफ्ट भएकोले भरतपुरबाट पश्चिमतर्फ थप विद्युत् आपूर्ति गर्न सकिने भएको छ ।

भरतपुरबाट प्रगतिनगरसम्मको खण्ड चार्ज भएपछि अब भरतपुरबाट बर्दघाटतर्फ झन्डै २५ मेगावाट विद्युत् थप पठाउन सकिने र यसबाट पश्चिम क्षेत्रको विद्युत् आपूर्ति व्यवस्थापनमा सहज हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । ‘भरतपुरतर्फ विद्युतको माग बढी रहेको तर अहिले सञ्चालनमा रहेको १३२ केभी लाइनको क्षमतालाई नधानेर थप विद्युत् पठाउन सकिरहेका थिएनौँ, अब कावासोती क्षेत्रको लोड शिफ्ट गरिएकोले थप विद्युत् बर्दघाटतर्फ पठाउन सक्छौँ, यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति व्यवस्थापनमा केही सहज भएको छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘पश्चिम क्षेत्रमा विद्युत् आपूर्तिका लागि टनकपुरबाट बाध्यात्मक रूपमा गर्नुपर्ने आयात घट्नुको साथै भोल्टेजमा पनि सुधार हुने छ ।’

नवलपरासी विनयी त्रिवेणी गाउँपालिका २ दुम्कीबासमा स्थानीयवासीको अवरोध र सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण दुई वटा टावर बनाउन नसक्दा भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माणकाे काम पूरा हुन सकेको छैन । सर्वोच्च अदालतले आइतवार रिट खारेज गरिदिएकोले अब दुई वटा टावर निर्माणको बाटो खुलेको छ ।

प्रसारण लाइनको मार्गधिकार परिवर्तनको माग गदै स्थानीयवासीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका कारण लाइन निर्माणको काम २०७७ को चैतदेखि रोकिएको थियो । सर्वोेच्च अदालतले रिट खारेज गरिदिएकाले अब अब मुआब्जा निर्धारणको प्रक्रिया सुरु गरी टावर निर्माण गरिने आयोजना प्रमुख सन्तोष साहले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया