आईपीओ निष्कासन भएको दोस्रो दिन नै प्रक्रिया रोक्न माग

 असार १४, २०७९ मंगलबार १४:३८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवागढी हाइड्रोपावर

रसुवा – रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन प्रक्रिया रोक्न प्रभावितले नै माग गरेका छन् । हिजो सोमवारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि कम्पनीले आईपीओ निष्कासन गरेको थियो । २०७२ सालको भूकम्प र कोरोना महामारीका कारण स्थानीयवासीसँग आईपीओ भर्ने रकम नहुँदा समस्या आएकाले गोसाइँकुण्ड गाउँपालिका–१ को वडा कार्यालयले आईपीओ प्रक्रिया रोख्न माग गरेको हो ।

भूकम्प र कोरोना महामारीका कारण प्रभावित ‘क’ वर्गमा परेको वडा नम्बर १ थुमन र २ टिमुरेका स्थानीयवासी शेयर भर्न असक्षम रहेका वडा नम्बर १ का अध्यक्ष उर्केन छिरिङ तामाङले बताउनुभयो । उहाँका अनुसार जारी मिति सारेर शेयर भर्नका लागि कम्पनी वा क्यापिटलले बैंकबाट ऋणको व्यवस्था मिलाउनुपर्नेछ । 

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत छवि गैरेले निष्कासन सुरु भइसकेकाले प्रक्रिया रोक्न नसक्ने बताउनुभयो ।

रसुवावासीका लागि रसुवागढीले १ सय रुपैयाँ अङ्कित ६८ लाख ४२ हजार १ सय कित्ता शेयर निष्कासन गरेको छ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ ।  

कम्पनीले गोसाईंकुण्ड गाउँपालिका १ थुमन र वडा नम्बर २ टिमुरेलाई अति प्रभावित, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ्मो गाउँपालिका ४ गोल्जुङ, वडा नम्बर ५ चिलिमे र गोसाईंकुण्ड गाउँपालिका–४ लाङटाङ, ५ स्याफ्रु र ६ धुन्चेलाई प्रभावित तथा बाँकीलाई सामान्य प्रभावित गरी तीन भागमा वर्गीकरण गरिएको छ ।

निष्कासन गरिएको १० प्रतिशत शेयरमा अति प्रभावित, प्रभावित र सामान्यलाई क्रमशः ४.५ः१.५ः१ अनुपातमा शेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । शेयर भर्ने मिति छिटोमा असार २७ र ढिलोमा साउन १० गतेसम्म तोकिएको छ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७ सय कित्तासम्म आवेदन दिन सकिने छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण लामो समयसम्म कम्पनीको शेयर निष्कासन प्रक्रिया रोकिएको थियो । कम्पनीले रसुवाको गोसाईंकुण्ड गाउँपालिका २, टिमुरेमा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यसको ८३ प्रतिशत काम सकिएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया