स्थानीयवासीको पैसा, श्रमदान र जग्गा दानबाट बनाइएको गाउँघर क्लिनिक भत्कियो

 असार १४, २०७९ मंगलबार १९:५१:३२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा स्थानीयवासीले स्वास्थ्य सेवाका लागि बनाएको भवन प्रयोगविहीन हुँदा भत्किएको छ । सरोकारवाला निकायको बेवास्ताको कारण स्वास्थ्य सेवा प्रवाह हुने गरेको भवन भत्किएको स्थानीयवासीको गुनासो छ । 

त्रिवेणी २ गैरीनेटामा रहेको सामुदायिक स्वास्थ्य इकाइको भवन भत्किएको हो । सुरुमा गाउँघर क्लिनिक सञ्चालन गरिएको यो भवन निर्माणका लागि यहाँका झन्डै एक सय ८० घरधुरीले प्रत्येक घरबाट एक हजार रुपैयाँका दरले रकम सङ्कलनसहित श्रमदान पनि गरेका थिए । यस वडाको गैरीनेटा, बाँदरपानी, पानीगैरा, चिनछहरे, उनेचौर टोलका स्थानीयवासीले उठाएको रकम र एक हप्ताको श्रमदानबाट भवन निर्माण गरिएको स्थानीयवासी डिल्लीरमण ओलीले जानकारी दिनुभयो । ‘स्थानीय चित्रबहादुर केसीले जग्गादान गर्नुभयो, सबैले रकम सङ्कलन गरेर बनायौँ’, त्यस भवन निर्माण समितिका सचिवसमेत रहनुभएका ओलीले भन्नुभयो, ‘अहिले बेवास्ता हुँदा भवन भत्किएको छ ।’ भवन मर्मत गरेर सञ्चालन गर्न आवश्यक रहेको उहाँको भनाइ छ । 

सुरुमा गाउँघर क्लिनिक सञ्चालन भएको सेवा पछि सामुदायिक स्वास्थ्य इकाइमा रूपान्तरण भएको थियो । झन्डै चार वर्ष गाउँघर क्लिनिक र आठ महिना त्यही भवनबाट सामुदायिक स्वास्थ्य इकाइ सेवा प्रवाह भएपछि गएको वर्षको साउनमा नयाँ भवनमा सरेको थियो । नयाँ भवनबाट सामुदायिक स्वास्थ्य इकाइले सेवा दिन थालेपछि पुरानो कार्यालय भवन प्रयोगविहीन भएको हो । जनताको रकम र श्रममा बनेको दुई कोठे भवन सबैतिरबाट बेवास्ता गरिँदा अहिले भत्किएको हो । 

वर्ष दिनसम्म पुरानो भवनको कुनै हेरचाह नभएपछि भत्किँदै गएको स्थानीयवासी कमला कठायतले बताउनुभयो । ‘जनताले त्यत्रो लगानी गरेर सरकारलाई दियौँ’, कठायतले भन्नभयो, ‘अहिले सरकारले वास्ता नगर्दा भवन भत्कियो ।’ महिला स्वास्थ्य आमा समूहको अध्यक्षसमेत रहनुभएकी उहाँले त्यस भवन मर्मत तथा संरक्षण गरेमा महिला भवन, बाल शिक्षा भवन तथा वडा कार्यालयसमेत सञ्चालन गर्न सकिने बताउनुभयो । अहिले स्थानीयवासी झन्डै तीन घण्टा हिँडेर भाडामा बसेको वडा कार्यालयमा जानुपर्ने बाध्यता छ । 

स्वास्थ्य समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष मोतिराम पुनले भत्किएको भवनको पुनर्निर्माण आवश्यक रहेको बताउनुभयो । रकम अलि बढी लाग्ने भएकाले स्थानीयवासीसँग सल्लाह गरेर समस्या समाधान गर्ने उहाँको भनाइ छ । दुई कोठे भवनको वरपर लगाइएको पर्खाल भत्किएको छ भने भवनको छानामा रहेको जस्तापाता हावाले उडाएको छ । स्थानीयवासीको लगानी र श्रममा बनेको भवन बेवारिसे नबनाइने वडाध्यक्ष पुनकाे भनाइ छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया