रसुवा : ६ वटा सडक सञ्चालनकाे जिम्मा जलविद्युत् आयोजनालाई, २ वटा गाउँपालिकालाई

 असार १४, २०७९ मंगलबार १७:३१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – यस पटकको बर्खा अवधिभर रसुवाका सडक सञ्चालनको जिम्मा जलविद्युत् आयोजनाहरूलाई दिएको छ । आयोजना सञ्चालन नभएका क्षेत्रमा भने सडक सञ्चालनको जिम्मा गाउँपालिका आफैँले लिएका छन् । 

जिल्ला विपद् व्यवस्थापन समिति रसुवाकोे आज मङ्गलवार बसेको बैठकले यो निर्णय गरेको हो । निर्णयअनुसार जिल्लाको मुख्य आठ वटा सडकमध्ये ६ वटाको जलविद्युत् आयोजना र दुई वटाको गाउँपालिकाको सहयोगमा सञ्चालन गरिने उल्लेख छ । 

बेत्रावती भोर्ले पारच्याङ यार्सा सडक खण्ड पूर्वाधार विकास कार्यालयसँगको समन्वयमा नौकुण्ड गाउँपालिकाले र बेत्रावती कालिकास्थान राम्चे ठाडे धुन्चे खण्ड कालिका गाउँपालिकाले सञ्चालनमा ल्याउनुपर्नेछ । 

माथिल्लो मैलुङ र माथिल्लो त्रिशूली–१ ले बेत्रावती मैलुङ बाह्र घुम्ती सडक, लाङटाङ खोलाले धुन्चे स्याफ्रु सडक, सान्जेनले स्याफ्रुबेसीदेखि कुलुङपुलसम्म, रसुवागढीले कुलुङपुलदेखि रसुवागढीसम्म, लाङटाङ भोटेकोसीले स्याफ्रु थाम्बुचेत गत्लाङ सडक र सान्जेन खोलाले रोंगा पाजुङ तातोपानी सडक सञ्चालनको जिम्मेवारी पाएका हुन् । 

यसअघिका वर्षहरूमा झैँ यस वर्ष पनि समितिले आयोजनाहरूलाई नै सडक सञ्चालनको जिम्मेवारी दिएको हो । यी सडक खण्डमा बर्खाको समयमा पहिरो जाने गरेको छ । सडक सञ्चालनको मुख्य जिम्मेवारी पाएको सडक डिभिजन कार्यालय नुवाकोटमा भएकाले आयोजनाहरूलाई नै यसको जिम्मेवारी सुम्पिएको हो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया