पार्टी उद्घाटन हुँदा नेपाल नै चकित हुनेछ : वामदेव गाैतम

 असार १४, २०७९ मंगलबार १७:४४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य एवम् पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा कम्युनिस्ट आन्दोलन नै धराशायी बन्दै गइरहेको बताउनुभएको छ । 

आज मङ्गलवार काठमाण्डाैमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गर्दै गाैतमले यस्तो बताउनुभएको हो । उहाँले आफूले जग हालेको र आन्दोलन सुरु गरेको कम्युनिस्ट पार्टी नै आज धराशायी बनेकोले कम्युनिस्ट एकताका लागि नै आफूले पार्टी घोषणा गरेको बताउनुभयो । उहाँले आफूले आज घोषणा गरेको पार्टी उद्घाटनताका नेपाल नै चकित हुने दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘कम्युनिस्ट आन्दोलन धराशायी भइरहेको छ । मैले निर्माण गरेको पार्टी, मैले नै सुरु गरेको आन्दोलन धराशायी हुनसक्ने स्थिति देखिएकाेले मैले आज शिलान्यास गरेको पार्टी उद्घाटन गर्ने बेलामा नेपाल चकित हुनेछ ।’

गाैतमले आफू अहिलेसम्म गएका पार्टीहरू सुदृढ र राम्रो बनेको दाबी गर्दै उद्घाटनका बेला हजारौँ मानिस आफ्नो साथमा हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीमा नातेदारहरूलाई राखेको भन्नेमा कुनै सत्यता नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले कुनै पनि मानिस केमा लाग्ने भन्ने कुरा स्वतन्त्र रहेकोले पार्टीमा परिवारका सदस्य रहे पनि पार्टी नै कम्युनिस्ट आन्दोलन र एकतालाई सफल पार्नका लागि बनेको बताउनुभयो । 

सदस्य गौतमले गएकाे पालिका चुनावमा कम्युनिस्ट कमजोर बनेको स्पष्ट देखिएको भन्दै अब पनि कम्युनिष्छ एक नहुने हो भने आउँदाे चुनावमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्ने दाबी गर्नुभयो । उहाँले आउँदाे पाँच वर्ष कांग्रेसले गठबन्धन गरेर अघि बढे पनि त्यसपछिका दिनमा कांग्रेसलाई कुनै गठबन्धनको आवश्यकता नपर्ने अवस्था बन्दै गएको टिप्पणी गर्नुभयाे । 

सदस्य गौतमले नेपाली कांग्रेस सत्तामा रहँदा विकासको नाममा जे पनि गर्ने गरेको आरोप लगाउनुभयो । उहाँले एकीकृत भएको कम्युनिस्ट आन्दोलन र पार्टी अघि बढेमात्रै देश विकास सम्भव रहेको जिकिर गर्नुभयो । उहाँले अहिले पनि दल दर्ता भइसकेका र नभएका गरि पाँच/दश वटा सङ्गठन आफ्नो साथमा रहेको भन्दै अब नेपालको कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउँदै अघि बढ्ने बताउनुभयो । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया