भेरी अस्पताल परिसरबाट ५ जना बिचौलिया पक्राउ

 असार १४, २०७९ मंगलबार २०:३२:५८ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – भेरी अस्पताल परिसर नेपालगञ्जबाट पाँच जना बिचौलिया पक्राउ परेका छन् । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले सर्वसाधारणलाई अनावश्यक दुःख दिने व्यक्तिहरूलाई पक्राउ गर्ने अभियान चलाइएको जानकारी दिनुभयो । पक्राउका समयमा अध्यक्ष धिताल, सदस्य कृष्णप्रसाद श्रेष्ठ, अन्य चिकित्सक प्रत्यक्ष सहभागी हुनुभएको थियो ।

अस्पतालमा आएका बिरामीलाई आफू अनुकूलको मेडिकलबाट औषधि किन्न र परीक्षण गर्न लगाउने बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको हो । बाँके प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसूदन न्यौपानेले बिरामीलाई दुःख दिएको गुनासो आएपछि पाँच जनालाई नियन्त्रणमा लिएको बताउनुभयो । भेरी अस्पताल प्रशासनले नै बिचौलियाको बिगबिगी भएको भन्दै प्रहरीलाई 'अप्रेशन' गर्न अनुरोध गरेको प्रवक्ता न्यौपानेले बतउनुभयो ।

अस्पतालमा बिचौलिया र चोरको बिगबिगी रहेको छ । एकथरीले कमिसनको नाममा बिरामीलाई दुःख दिने र अर्कोथरीले अस्पताल परिसरबाट मोटरसाइकललगायत चोर्ने गरेको प्रहरीको भनाइ छ । पछिल्लो समयमा भेरी अस्पताल परिसरबाट मोटरसाइकल हराउने क्रम बढेको छ ।

पश्चिम नेपालकै सुविधा सम्पन्न यस अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाबाट बिरामीहरू उपचारका लागि आउने गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया