देशका धेरै ठाउँमा झरी, केही ठाउँमा ठूलो वर्षा : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

 असार १५, २०७९ बुधबार ६:५८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - गएरातिदेखि नै देशका धेरै ठाउँमा पानी परिरहेको छ । सातै प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको झरी छ भने केही ठाउँमा ठूलो वर्षा भएको छ ।

वर्षाका कारण सबैभन्दा धेरै असर प्रदेश-१ मा परेको छ । मोरङको गछिया खोलामा आएको बाढीले बगाउँदा सुन्दर हरैँचा-६ का ५८ वर्षका रामबहादुर विकको ज्यान गएको छ मोरङका धेरै ठाउँ डुबानमा परेको छ ।

यस्तै, झापामा पनि धेरै ठाउँ डुबानमा परेका छन् । लगातारको झरीले बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । प्रहरीले डुबान प्रभावित ठाउँका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सार्न थालेको छ । 

झापा र मोरङका झन्डै एक हजार जनालाई सुरक्षित ठाउँमा सारियो 

देशका विभिन्न ठाउँमा डुबानमा परेका २ सय ८८ घरका झन्डै एक हजार नागरिकलाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । लगातारको वर्षापछि जोखिममा परेका ९ सय ३४ जना व्यक्तिलाई सशस्त्र प्रहरीले हिजो उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरेको हो ।

झापाको गौरीगञ्ज गाउँपालिका–१ बालुबाढी टप्पु र कुन्जीबारी बजारका बस्तीमा माई नदी र कमला खोलाकाे पानीको बहाव बढेर ३८ घर डुबानमा परेका र झन्डै १ सय ५० जनालाई सुरक्षित ठाउँमा सारिएको सशस्त्र प्रहरीले जनाएको छ । त्यस्तै झापाको बाह्रदशी गाउँपालिका–२ सुकुम्वासी बस्ती पनि डुबानमा परेको छ ।

त्यहाँ ६० घरबाट खाद्यान्न लगायतका सामग्री सुरक्षित ठाउँमा सारिएको छ । मोरङको कटहरी गाउँपालिका–१ टाइगर टोलका डुबान प्रभावित १ सय ३० वटा घरका झन्डै ५ सय २० जनालाई र खाद्यान्न तथा सरसामान सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ ।

विराटनगर महानगरपालिका–१ परोपकार इलाकामा रहेको ६० घरका डुबान प्रभावित २ सय ६४ जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।

नदी तटीय र डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउन आग्रह

लगातारको वर्षाले नदी तथा खोलामा पानीको सतह बढेको छ । अहिले कैलाली, कञ्चनपुर र आसपासका ठाउँमा ठूलो पानी परिरहेको छ । कैलालीको कान्द्रा नदी जलसतहले सतर्कता तह पार गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले कान्द्रा, मोहना, खुटीयालगायत नदीमा एक्कासी बाढी आउन सक्ने भएकाले नदी तटीय होचा डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै दाङ घोराही र आसपासको क्षेत्र, बाग्लुङकाे गलकोट आसपासमा पनि ठूलो पानी परेको छ । त्यहाँ भारी वर्षा मापन गरिएको छ । साथै बबईसहित अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया