स्वच्छता कायम नगरि सडक छेउछाउमा खानेकुरा बेच्नेलाई कारबाही गरिने

 असार १५, २०७९ बुधबार ८:३४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सरसफाइ र स्वच्छतामा ध्यान नदिइ सडक छेउछाउमा खानेकुरा बिक्री गरेको पाइए कारबाही गर्ने जनाएको छ ।

आज सूचना निकालेर विभागले  स्वच्छता कायम नगरि व्यापार गर्नेलाई खाद्य ऐन २०२३ अनुसार कारबाही हुने चेतावनी दिएको हो ।

विभागले खानेकुरको बिक्री गर्दा सरसफाइमा ध्यान दिन र पञ्जा, मास्क, कपाल छोप्ने क्याप अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ । स्वास्थ्यविज्ञले बर्खामा सरुवा रोगको जोखिम धेरै हुने भएकाले सकेसम्म सडक छेउछाउमा राखिएका खानेकुरा नखान र पानी उमालेर वा शुद्धीकरण गरेर मात्रै पिउन आग्रह गर्दै आएका छन् ।

यसैबीच, हैजाको रोकथाम नभएसम्म सडकमा पानीपुरी, चटपटे जस्ता खानेकुरा नराख्न र यस्ता खानेकुरा नखान काठमाण्डौ महानगरपालिकाले आग्रह गरेको छ ।

महानगरपालिकाले हिजोदेखि नै खुला रुपमा सडकमा खानेकुरा राखेर बिक्री गर्न रोक लगाएको छ । तर केही ठाउँमा बिक्री गरिरहेको पाइएकाले अनुगमन गरी हटाउने तयारी भइरहेको महानगरको स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि ठाउँ ठाउँमा अनुगमन टोली खटिने छ ।

हैजाको  प्रकोप फैलिए कोरोना भाइरसको सङ्क्रमणभन्दा डरलाग्दो अवस्था आउन सक्ने भएकाले सडक छेउछाउमा खानेकुरा बेच्न रोक लगाइएको उहाँले बताउनुभयो । उहाँले अब अनुगमनका क्रममा महानगरपालिका भित्रका सडक छेउछाउमा खानेकुरा बेचेको पाइए कारबाही हुने पनि बताउनु भएको छ ।

पानी शुद्धीकरण नगरि तथा जथाभाबी खुल्ला राखिएका खानेकुराका कारण उपत्यकामा हैजा झन् फैलने जोखिम बढेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया