बेरुजुका विषयमा सरकारले अपनाएका विधिमा अध्ययन गर्न आवश्यक छ : मन्त्री शर्मा

 असार १५, २०७९ बुधबार १६:८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अर्थ मन्त्री जनार्दन शर्माले बेरुजुका विषयमा सरकारले अपनाएका विधि र पद्धतिमा अध्ययन गर्न आवश्यक रहेको बताउनुभएको छ । 

आज बुधवार महालेखापरीक्षक कार्यालयको ७४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थ मन्त्री शर्माले सरकारको लेखापरीक्षण गर्ने विधि र पद्धतिमा अहिलेसम्म कहाँ त्रुटि भएको हो त्यसको अध्ययन, अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले लेखापरीक्षण गर्ने सरकारको विधि, पद्धतिमा त्रुटि भएर बेरुजुमा एकपछि अर्को समस्या बढ्दै गएको बताउनुभयो । 

अर्थ मन्त्री शर्माले  सार्वजनिक इकाइहरूमा जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्दै सुशासन प्रवद्र्धन गर्न महालेखापरीक्षकको महत्त्वपूर्ण भूमिका रहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘बेरुजु सम्बन्धमा हामीले अहिलेसम्म अपनाएका विधि र पद्धतिमा आवश्यक समीक्षा गर्नुपर्ने महसुस गरेको छु । हाम्रो लेखापरीक्षण गर्ने विधि र पद्धतिमा कहाँ त्रुटि छ ? किन एकपछि अर्को जटिल बन्दै गएको छ भन्ने कुराको फेरि पनि अध्ययन, अनुसन्धान र निराकरणको आवश्यकता मैले महसुस गरेको छु । 

अर्थ मन्त्री शर्माले पछिल्लो समय अर्थतन्त्रको आकार फराकिलो हुँदै गए पनि आर्थिक गतिविधिका परिसूचकहरूमा उत्तारचढाव आइरहेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा पछिल्लो समय आर्थिक गतिविधिका परिसूचकहरूमा उत्तारचढाव भएको विषयमा अर्थतन्त्रको गहन अध्ययन, विश्लेषण र मूल्याङ्कन गर्न आवश्यक देखिएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया