नारायणगढ–मुग्लिन सडक : १७ ठाउँ पहिरोको उच्च जोखिममा

 असार १५, २०७९ बुधबार १६:३६:५२ | रासस
unn.prixa.net

नारायणगढ–मुग्लिन सडक, फाइल फाेटाे

काठमाण्डौ : नारायणगढ–मुग्लिन सडक खण्डका १७  ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षासँगै ती मध्ये सात ठाउँमा साना–ठूला पहिरो खसिसकेको छ । डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीका अनुसार चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी बजार नजिकैको कविलास जाने बाटो उच्च जोखिम देखिएको छ ।

ती ठाउँमा यस वर्ष पहिरो खसेर दुःख दिइरहेको छ । तीमध्ये नारायणगढबाट ३१ किलोमिटर मुग्लिनतर्फ नाम्सी पुलमा धेरै समस्या आएको छ । त्यहाँ पुल निर्माण गर्दा काटिएको भित्तोबाट पहिरो खसेर समस्या आएको कार्कीले जानकारी दिनुभयो । त्यसका साथै सेती दोभान, कालिखोला, सिमलताल लगायतका १० ठाउँ जोखिममा रहेको छ । ती १७ ठाउँमा गएको वर्ष पहिरो खसेको थियो । 

कतिपय ठाउँमा सुक्खा पहिरोसमेत खसेर दुःख दिएको कार्की बताउनुहुन्छ । काठमाण्डौ प्रवेश र बाहिरिने यो मुख्य सडकमा एक दिनमा १० हजार बढी गाडी आउजाउ गर्ने गर्दछन् । सडक पुनर्निर्माणको काम सकिए पनि सडकमाथिका पहिरो जोखिम क्षेत्रको व्यवस्थापन हुन सकेको छैन । डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले सडक विस्तार र पुल निर्माणको काम एकै पटक नहुँदा समस्या भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मुख्य रूपमा पुल बनाउँदै गरेका ठाउँमा बढी समस्या देखिएको छ ।’ ती ठाउँमा भित्ता काटिएकाले पहिरो खसेको हो । यो सडक खण्डमा निर्माण गरिँदै रहेको १९ पुलमध्ये चार वटाको निर्माण पूरा भएर हस्तान्तरण भइसकेको छ भने १४ पुल  निर्माणको अन्तिम चरणमा रहेको छ । एउटा निर्माण सुरु हुने प्रक्रियामा छ । नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजनाअन्तर्गत नारायणगढ–मुग्लिन सडकको ३६ किलोमिटर सडक विश्व बैंकको सहयोगमा विस्तारको काम गरिएको थियो । सन् २०१५ को अप्रिलमा ठेक्का सम्झौता भइ दुई अर्ब ९० करोड रुपैयाँ खर्च गरी तीन वर्ष लगाएर सडक विस्तार गरिएको हो ।

त्यही क्रममा ३१ ठाउँका पहिरो नियन्त्रणको काम गरिएको थियो । धेरैजसो ठाउँमा भित्तो काटिएको थियो ।  जसमध्ये सात ठाउँमा महत्त्वका साथ पहिरो रोक्ने काम गरिएको थियो । पहिरो रोक्ने कामका लागि मात्र ४० करोड रुपैयाँ खर्च भएको छ । सडक विस्तारका क्रममा काटिएका भित्ता र ग्रामीण क्षेत्रमा जानका लागि खनिएका सडकका कारण धेरै ठाउँमा पहिरोले दुःख दिने गरेको थियो । यस वर्ष पुलका कारण तासिएको भित्तोबाट समेत पहिरो खसेको हो ।

यो सडकमा वर्षाको समयमा पटक–पटक पहिरो खसेर दुःख दिने गरेको छ । नारायणगढ– मुग्लिन र पृथ्वी राजमार्गले धेरै दुःख दिएपछि चितवन, धादिङ र तनहुँका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारी, डिभिजन सडकका प्रमुखसहितका सरोकारवालाको संयुक्त बैठक बसेर पूर्वतयारीका योजनासमेत तय गरिएको छ । पहिरोको उच्च जोखिम भएका क्षेत्रमा उपकरण र जनशक्ति तयारी अवस्थामा राख्ने निर्णय गरी कार्यान्वयनमा ल्याइएको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख डिभिजन इन्जिनियर बाबुराम सापकोटाका अनुसार पहिरो पन्छ्याउन हरेक वर्ष कम्तीमा १३ लाख रुपैयाँ खर्च हुने गरेको तथ्याङ्क छ । अहिले यो सडकमा पहिरो पन्छाउनका लागि एकस्काभेटर सहितको प्राविधिक टोली  चौबीसै घण्टा सडकमा नै खटिएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया