म्याग्दीमा मह उत्पादन घट्याे, यस वर्ष मात्रै १२ हजार केजी मह उत्पादन

 असार १६, २०७९ बिहिबार ११:४३:८ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीमा यसवर्ष गएका वर्षकाे तुलनामा मह उत्पादन घटेको छ । मौरीमा रोग तथा किराको प्रकोप देखिनु, मौसम प्रतिकूल हुनु, समयमा पर्याप्त फूलहरु नफुल्नु र चरन क्षेत्रको अभावका कारण मह उत्पादनमा कमी आएको हो ।

म्याग्दीमा १ वर्षको अवधिमा जम्मा १२ हजार केजी मात्रै मह उत्पादन भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा विगतका वर्षको तुलनामा जिल्लाभरि यसवर्ष मह उत्पादन घटेको हो । जिल्लाको विभिन्न ठाउँमा किसानहरुले गरेको मौरीपालन व्यवसायबाट यसवर्ष १२ हजार केजी मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

जिल्लामा अहिले करिब २ हजार ५ सयवटा मौरीका आधुनिक घार रहेका छन् । गएका वर्षमा वार्षिक २० हजार केजीभन्दा बढी मह उत्पादन हुने गरेकोमा पछिल्ला वर्षहरुमा भने महको उत्पादन घट्दै गएकाे छ । पछिल्लो समय महको उत्पादनमा कमी आउन थालेपछि मौरीपालन व्यवसायमा आबद्ध किसानहरु चिन्तित भएका छन् । 

म्याग्दीको मौरीपालन व्यवसायमा थाइस्याकग्रुड र युरोपियन फउलग्रुड रोगको प्रकोप देखिएको थियो । रोग, किराको प्रकोपले गर्दा मौरीको घारमा मह, कुट, अण्डा, लार्भा र छाउरा नष्ट हुनुका साथै महका पोला रित्तै भएपछि महको उत्पादन घटेको किसानहरुकाे गुनासाे छ । एक वर्षमा सिजनअनुसार तीन पटकसम्म मह काढ्ने गरिन्छ ।

म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको डडुवामा मात्रै ७५ प्रतिशत मौरीमा रोग, किराको प्रकोप देखिएपछि रोकथामका लागि उपचार गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो । उहाँका अनुसार जाडो र चिसो मौसमका कारण मौरीले चिसो सहन नसकेपछि प्रकोप देखिनुका साथै सुलसुले र मैनपुतलीको समेत प्रकोप देखिएको थियो। 

म्याग्दी जिल्लामा पहाडी क्षेत्रमा हुने सेरेना प्रजातिको मौरीलाई व्यावसायिक रुपमा पाल्ने गरिएको छ । अहिले जिल्लाभर ३ सयभन्दा बढी किसानहरु मौरीपालन व्यवसायमा संलग्न भए पनि व्यावसायिक रुपमा जम्मा २० जना मात्रै किसानहरु क्रियाशील रहेका कृषि ज्ञान केन्द्रकाे तथ्याङ्क छ । मौरीपालनमा किसानहरु धेरै देखिए पनि व्यावसायिक बन्न सकिरहेका छैनन् । पछिल्लो केही वर्षयता मौरीमा विभिन्न किसिमको रोग तथा किराको प्रकोप देखिएपछि मह उत्पादनमा कमी आएको छ । 


    
किसानहरुले मह उत्पादन गर्नेभन्दा पनि मौरीसहित घार बिक्री गर्ने हुँदा पनि मह उत्पादनमा कमी आएको हो । म्याग्दीको बेनी नगरपालिकाको सुर्केमेला, सिङ्गा, डम्बरा, डडुवा, मङ्गला गाउँपालिकाको पूर्णगाउँ, कुहुँ, भर्जुला, रघुगङ्गाको राखुक्षेत्र, अन्नपूर्णको शिख, मालिकाको दरबाङ, दिच्याम, धवलागिरिको ताकम, हिलापोखरीलगायत क्षेत्रमा मह उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत पाण्डेले जानकारी दिनुभयो । 
    
कृषि ज्ञान केन्द्र र पालिकाबाट किसानहरुलाई अनुदानमा घार सहयोग, विभिन्न समयमा तालिम गोष्ठी प्रदान र बीऊ पुँजीलगायत सहयोग हुँदै आएको छ । राम्रोसँग मौरीपालन गर्न सकेमा एक सिजनमा एउटै घारबाट झन्डै ८ केजीसम्म मह उत्पादन हुन सक्ने किसानहरुसँग अनुभव छ । अहिले प्रतिकेजी महकाे एक हजार छ सय रुपैयाँ मूल्य पर्दछ । म्याग्दीमा उत्पादित मह नेपालको विभिन्न जिल्ला हुँदै जापान, कतार, साउदी, बहराइन जस्ता देशहरुमा पुग्ने गरेकाे छ । 


    
किसानहरुले मह, घार, मौरीसहित महको पोला र मौरीसँगै घार बिक्री गरेर वार्षिक रुपमा मनग्य आम्दानी गर्दछन् । म्याग्दीका किसानहरुले काठ तथा आधुनिक घारमा मौरी पाल्दै आएका छन् ।महलाई औषधि र पूजाआजामा प्रसादको रुपमा समेत प्रयोग गरिन्छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया