थेग्नै नसकिने मूल्यवृद्धि, सरकारी अनुगमन नाम मात्रैको

 असार १६, २०७९ बिहिबार १३:५२:० | वैद्यनाथ पाैडेल
unn.prixa.net

हरिसिद्धि बस्ने निर्मला लोप्चन लगनखेलमा सामान किन्दै हुनुहुन्छ । भान्सामा चाहिने हरेक सामानको भाउ बढेपछि बोकेर लैजान गाह्रो भए पनि केही सस्तो होला भनेर उहाँले लगनखेलमा सामान किन्नु भएको हो ।

हातमा चिनी, दाल र गेडागुडीको झोला झुन्ड्याएपछि लोप्चनले भन्नुभयो, ‘महँगीले बाँच्न गाह्रो भइसक्यो । एक महिना अघिसम्म मुसुरोको दाल किलोको १ सय ६० रुपैयाँ थियो अहिले १ सय ७५ रुपैयाँ भन्छ । बोडी १ सय ५० रुपैयाँको १ सय ७० रुपैयाँ अनि केराउको १ सय २० रुपैयाँको १ सय ३० रुपैयाँ भएछ । तेल त झन् छोइनसक्नु छ । एक महिना अघिसम्म ३ सय ५० रुपैयाँको तोरीको तेल अहिले ४ सय १० रुपैयाँ छ ।’ 

पहिले कोरोनालाई कारण देखाउँदै खाने तेल लगायतका सरसामानको भाउ बढाइएको थियो । त्यसपछि रुस र युक्रेन युद्धका कारण विश्वभरि इन्धन, खाने तेल तथा दलहनको मूल्य बढ्दा नेपालमा पनि असर परेको व्यापारीहरु बताउँछन् । एक महिनाअघिको तुलनामा तोरीको तेल लिटरमा ६० रुपैयाँले बढेको छ । त्यस्तै दाल तथा अन्य खाद्यान्नमा पनि ५ रुपैयाँदेखि २० रुपैयाँसम्म बढेको खुद्रा व्यापार सङ्घको तथ्याङ्कले देखाउँछ । 

 

इन्धनको भाउ बढ्न थालेपछि मूल्यवृद्धि झनै बढेको छ । चिया, खाजादेखि पानीमा समेत भाउ बढेको छ । यसबाट निम्न तथा मध्यम वर्गका परिवारलाई सबैभन्दा बढी मार परेको छ ।जावलाखेलमा सिलाइ पसल गर्दै आउनु भएकी काभ्रेकी गीता परियार भन्नुहुन्छ, ‘अहिले एक कप चियाको ३० रुपैयाँ भन्न थाले । एक महिना अघिसम्म ९० रुपैयाँको चिनी अहिले १ सय ५ रुपैयाँ लिन्छ । कसरी गुजारा गर्नु ?’

चाउचाउको मूल्य पनि उसैगरी बढेको छ । एक महिना अघिसम्म एक प्याकेटको २० रुपैयाँ लिने चाउचाउको भाउ बढेर २२ रुपैयाँ भएको छ । ‘पसलमा चाउचाउ खाजा खान सजिलो हुन्थ्यो, त्यो पनि गाह्रो भयो’ परियार भन्नुहुन्छ, ‘अब खाजा खान पनि नसकिने भयो । २० रुपैयाँको चाउचाउ २२ रुपैयाँ लिन्छन् । पसलमा पानी खान लिने गरेको जार पनि ४० रुपैयाँले किन्ने गरेकोमा अब ५० रुपैयाँ रे ।’ 

तरकारी पनि उस्तै महँगाे छ । कालीमाटी तरकारी बजारको मूल्यसूचीमा मूल्य कम भए पनि भान्सामा दैनिक प्रयोग हुने आलु, फर्सी, घिरौँला, बन्दा, काउली, गोलभेँडा जस्ता कुनै पनि तरकारीको मूल्य एक किलोको १ सय रुपैयाँभन्दा कम छैन । 

लगनखेल बसपार्कको तरकारी बजारमा तरकारी किन्दै गर्नु भएकी खुमलटारकी विनु केसी भन्नुहुन्छ, ‘अहिले बर्खे तरकारीको सिजन हो । यहाँ प्रायः लोकल तरकारी पनि आउँछ । तर यहाँ सोध्दा सबैथरी तरकारीको भाउ २० रुपैयाँदेखि ५० रुपैयाँ बढेको भन्छन् ।’

३० रुपैयाँमा पाइने फर्सीको मुन्टालाई ५० रुपैयाँ भनेपछि उहाँ पसलेसँग कराउँदै हुनुहुन्थ्यो ‘यो पनि तेलको भाउ बढेर हो कि ? अहिले त घट्यो त,’ उहाँको प्रश्न छ, ‘यो यहीँ पाइने फर्सीको मुन्टामा हिजोको आजै कसरी भाउ बढ्छ ? एक महिना अघिसम्म ५० रुपैयाँको गोलभेँडा आज ७० रुपैयाँ पुगेछ । एक महिना अघिसम्म १ सय रुपैयाँ धार्नीको आलु अहिले १ सय ३० रुपैयाँ छ । यसरी साना मान्छे कसरी बाँच्ने ?’ 

आम नागरिकको घरमा दैनिक पाक्ने तरकारीको मूल्य बढेको कुरा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तीन महिना अघिको मूल्य सूची हेर्दा समेत स्पष्ट देखिन्छ । 

थोक बजारमा गोलभेँडाको भाउ औसतमा ४५ रुपैयाँ किलो भए पनि बजारमा भने ७० रुपैयाँ किलो छ । त्यस्तै थोक बजारमा काँक्रो किलोको ६० रुपैयाँ भए पनि बजारमा १ सय रुपैयाँ, थोकमा काउली किलोको ६० रुपैयाँ हुँदा बजारमा १ सय रुपैयाँ, सिमी थोक बजारमा किलोको ५५ रुपैयाँ हुँदा बजारमा १ सय रुपैयाँ छ । बजारमा कुनै पनि तरकारी किलोको १ सय रुपैयाँभन्दा कममा पाइँदैन । 

इन्धनको भाउ बढ्दा सबैतिर असर

रुस, युक्रेन युद्धका कारण इन्धनको भाउ बढ्दा यसको असर सबै वस्तु र सेवामा परेको छ । गएको जेठ २६ गतेसम्म १ सय ७८ रुपैयाँ रहेको पेट्रोलको २१ रुपैयाँ बढाउँदै सरकारले असार ५ गते १ सय ९९ रुपैयाँ पुर्यायो । त्यस्तै १ सय ६५ रुपैयाँको डिजल बढेर १ सय ९२ रुपैयाँ पुग्यो । सर्वत्र विरोधपछि सरकारले असार ११ गते इन्धनको मूल्य घटाएर पेट्रोलको १ सय ७९ रुपैयाँ तथा डिजलको मूल्य १ सय ६३ रुपैयाँ कायम गरेको छ । तर, इन्धनको मूल्य घटिसक्दा पनि बजारमा अरु सरसामानको भाउ घटेको छैन ।

इन्धनको मूल्य वृद्धि नै बजार भाउ बढ्नुको कारक मान्नुहुन्छ नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ । इन्धनमा मूल्य वृद्धि भएपछि ढुवानी भाडालगायत सबै कुराको भाउ बढ्ने भएका कारण बजार भाउ बढेको उहाँको भनाइ छ । त्यसमा रुस र युक्रेन युद्ध पनि कारक रहेको श्रेष्ठको तर्क छ । उहाँ भन्नुहुन्छ, ‘तेलको भाउ बढेपछि उत्पादन हुने वस्तुको लागत बढ्न जान्छ । अनि ढुवानी भाडा पनि बढेर आउँछ । त्यसैले तेलको भाउ बढ्ने बित्तिकै सबै चिजको भाउ बढ्छ ।’ 

‘तेलको भाउको कारणले भएको मूल्यवृद्धि अब बिस्तारै घट्छ । तर, कहिले घट्छ भन्न सकिँदैन’ उहाँ भन्नुहुन्छ ।

के गर्दैछ वाणिज्य विभाग ?

सरकारले तेलको भाउ घटाइ सकेपछि बजारमा इन्धन वृद्धिको कारण देखाउँदै गरिएको मूल्य वृद्धि कम भएको छैन । मूल्य वृद्धि नियन्त्रणका लागि वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले बजार अनुगमन थालेको छ । 

वाणिज्य विभागको अनुगमन अरु बेलामा पनि सधैँ हुने गरेकोमा अहिले इन्धनको मूल्य वृद्धिपछि बजार भाउ बढेको भन्ने जनगुनासो आएपछि अनुगमनलाई अझ बढाइएको विभागका प्रवक्ता हरि पङ्गेनीको भनाइ छ । 

अनुगमनका क्रममा अनियमितता पाइएपछि दुई वटा पेट्रोल पम्पलाई कारबाही गरी एउटालाई २ लाख रुपैयाँ तथा अर्कोलाई ५० हजार रुपैयाँ जरिबाना गरिएको उहाँले जानकारी दिनुभयोे। उहाँका अनुसार ३ वटा हार्डवेयर पसललाई १५/१५ हजार रुपैयाँ तथा खाद्य पसललाई ५० हजार रुपैयाँ जरिबाना गरिएको छ । 

पङ्गेनी भन्नुहुन्छ, ‘अहिले २०/२५ जना कर्मचारी दैनिक अनुगमनमा खटिनु भएको छ भने दैनिक ३, साढे ३ लाख रुपैयाँ जति जरिबाना भइरहेको छ।’ तर विभागले अनुगमन र जरिबाना भइरहेको बताए पनि बजारमा मूल्यवृद्धि उस्तै छ । इन्धनको भाउ घट्दासमेत त्यसकै नाममा भएको मूल्यवृद्धि घट्ने सङ्केत अझै देखिएको छैन ।

अन्तिम अपडेट: चैत १४, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया