सुदूरपश्चिममा ४३ प्रतिशत रोपाइँ

 असार १६, २०७९ बिहिबार १८:५०:३७ | विमल बिष्ट
unn.prixa.net

डोटी – सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत जमिनमा रोपाइँ सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका अनुसार प्रदेशको सबैभन्दा बढी बैतडीमा ८० प्रतिशत रोपाइँ भएको छ । यस्तै डडेल्धुरामा ७०, अछाममा ६०, बझाङमा ५०, कञ्चनपुर र दार्चुलामा ४०/४०, कैलाली र बाजुरामा ३५/३५ र डोटीमा २५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

प्रदेशमा एक लाख ८१ हजार ६ सय चार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । तर असार १५ गतेसम्म प्रदेशका नौ वटै जिल्लामा ४३ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । प्रदेशका नौ वटै जिल्लामा पर्याप्त सिँचाइ सुविधा नभएकाले वर्षाको पानीले रोपाइँ गर्नुपर्ने बाध्यता छ । ढिलोगरी रोपाइँ सुरु भएकाले धान उत्पादन कम हुने चिन्ता छ । समयमै पानी नपरेका कारण यहाँका ५५ प्रतिशत खेत बाँझै रहेको निर्देशनालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले जानकारी दिनुभयो ।

पछिल्लो केही दिनयता पानी पर्न सुरु भएपछि रोपाइँ गर्ने क्रम बढ्न थालेको प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरले जनाएको छ । सुदूरपश्चिममा असार पहिलो हप्ताबाटै रोपाइँ गरिने भए पनि आकाशे पानीको भर पर्नु पर्दा बल्ल रोपाइँको काममा लागेको डाेटीकाे शिखर नगरपालिका २ का रामबहादुर दडीवानाले बताउनुभयो ।

डाेटीकाे दिपायल, सिलगढी, कालागाढ, जोरायल, बीपीनगर, बर्छैन, बडीकेदार, बोगटान, पूर्वीचौकी, सायल, आदर्श, मौवा, गड्सेरा लगायतका क्षेत्रमा अहिले रोपाइँ गर्न भ्याइनभ्याइ भएको किसानहरू बताउँछन् ।

सुदूरपश्चिममा ७३ हजार ६ सय १७ हेक्टर जमिनमा वर्षभरि सिँचाइ हुने गरेकामा ३६ हजार चार सय ८३ हेक्टर जग्गामा आंशिक सिँचाइको मात्रै सुविधा रहेको छ ।

रासायनिक मलकाे अभावले पनि यहाँका किसानलाई समस्या छ । यस वर्ष यहाँका किसानले विना मल रोपाइँ गर्न बाध्य भएको विक्रमबहादुर थापाले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ११, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया