ललितपुरको झम्सीखेल चोकमा ट्राफिक लाइट सञ्चालनमा आयाे

 असार १६, २०७९ बिहिबार १६:५०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुरको झम्सीखेल चोकमा जडान भएको ट्राफिक लाइट आज बिहीवारदेखि सञ्चालनमा आएको छ ।  

काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ललितपुर महानगरपालिका वडा नम्बर ३ र तन्त्र भेन्चर्स प्रालिसँग सहकार्य गरी नयाँ ट्राफिक लाइट जडान गरेर सञ्चालनमा ल्याएको हो । ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले आज बिहान नयाँ ट्राफिक लाइटको स्विच अन गरी उद्घाटन गर्नुभयो । 

कार्यक्रममा एसएसपी जोशीले प्रविधिको विकासले फड्को मार्दै गर्दा ट्राफिक प्रहरीको सेवामा पनि यात्रुमैत्री प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिँदै आएको बताउनुभयो । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, व्यवस्थित एवम् चुस्त बनाउन तथा प्रविधिको प्रयोग गरी थोरै जनशक्तिबाट धेरै काम लिन विभिन्न प्रविधिमैत्री अभियान थालिएको उहाँको भनाइ छ ।

यस्तै ललितपुर महानगरपालिका ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले ट्राफिक लाइट जडानबाट आम सेवाग्राहीलाई प्रत्यक्ष लाभ हुने कुरामा जोडिन पाउँदा हर्षित रहेको र सडकलाई यात्रुमैत्री बनाउन आउँदा दिनमा समेत ट्राफिक प्रहरीसँग सहकार्य गर्दै जाने बताउनुभयो । 

अहिले काठमाण्डौ उपत्यकाको मुख्य ४० चोकमा ट्राफिक लाइटबाट सवारी व्यवस्थापन हुँदै आएको छ भने १३ ठाउँमा परीक्षण गरी सञ्चालनको प्रकियामा रहेको र सात ठाउँमा जडान कार्य भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक लाइट सञ्चालनमा आएका चोकहरूमा ट्राफिक लाइटको पूर्ण पालना गरी ट्राफिक व्यवस्थापनमा सहयोग गर्न चालक तथा पैदलयात्रीलाई ट्राफिक कार्यालयले विशेष अनुरोधसमेत गरेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया