सरकारले अमेरिकालाई लेखेको पत्रबारे जनताले थाहा पाउनुपर्छ : भीम रावल

 असार १६, २०७९ बिहिबार १७:२१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले अमेरिकालाई एसपीपी कार्यक्रममा नजोडिने भनेर लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग गर्नुभएको छ । 

आज बिहीवार काडमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद रावलले सरकारले स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्बन्धमा अमेरिकी सरकारलाई पठाएको पत्र तत्काल सार्वजनिक गर्न माग गर्नुभएको हो । उहाँले सरकारले पठाएको पत्र नागरिकले थाहा पाउने गरी सार्वजनिक गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले एसपीपी लागू गर्न खाजेको थियो । तर अहिले नमान्ने पत्र पठाएको भनेको छ । त्यो पत्र निसङ्कोच बाहिर ल्याउनुपर्छ । अमेरिकालाई लेखेको पत्र नेपाली जनताले थाहा पाउनुपर्छ ।’

सांसद रावलले देशको अर्थतन्त्र, कृषि र राष्ट्रको सुरक्षामा देखिएको बाह्य हस्तक्षेप बढ्दै गए नेपालीहरूको दैनिकी कष्टकर र पीडादायी हुने बताउनुभयो । उहाँले सातभन्दा बढी देशका शरणार्थी नेपाल आएर आन्दोलन गर्दासम्म सरकार कानमा तेल हालेर बसेको आरोप लगाउनुभयो । 

सांसद रावलले सरकार र गठबन्धन दलहरू कुन मन्त्री कति महिना बनाउने र फेर्ने भन्नेमा मात्रै केन्द्रित रहेको बताउनुभयो । उहाँले देशको राष्ट्रियतामा असर पर्ने कुराहरू के–के हुँदैछन् भन्ने कुरामा प्रधानमन्त्रीसमेत चिन्तित नरहेको आरोप लगाउनुभयो । 

सांसद रावलले सरकारले अमेरिकालाई एसपीपीमा नजाेडीने भनेर पत्र नै नपठाएको दाबी पनि गर्नुभयो । उहाँले सरकारका मन्त्रीहरूले संसदमा जानकारी दिए पनि पत्र भने नपठाएको दाबी गर्नुभयो । सांसद रावलले एसपीपी सम्बन्धमा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति र राज्यका नीति सिद्धान्तको अनुगमन सम्बन्ध समितिले समेत दस्तावेज माग गर्दा अहिलेसम्म सरकारले बुझाएको बताउनुभयो । उहाँले नेपालको परराष्ट्र नीतिलाई मिच्ने, मनपरी निर्णय गर्ने, कुटनीतिक रूपमा पत्रचार गर्ने निकायले पत्रचार गर्ने र ठूला शक्तिराष्ट्रका अगाडि झुकेर संविधानको प्रावाधानलाई कार्यान्वयन नगर्ने प्रधानमन्त्रीको चरित्रका कारण परराष्ट्र नीति र कुटनीतिमा गम्भीर विचलन देखा परेको आरोप लगाउनुभयो ।

सांसद रावलले नेपालको कुटनीतिको विचलन हुँदा नेपालको स्वतन्त्रता र भौगोलिक अखण्डताको लागि अत्यन्त खतरनाक हुने दाबी गर्नुभयो । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया