शेखर पक्षले देउवालाई ‘रचनात्मक दबाब’ दिने

 असार १६, २०७९ बिहिबार १९:५२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

बैठकमा सहभागी शेखर काेइरालालगायतका नेता

काठमाण्डौ – नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षधर नेताहरूले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब (कन्स्ट्रक्टिभ विद्रोह) दिने भएकाे छन् । 

आज बिहीवार काठमाडौमा भएको कोइराला पक्षीय नेताहरूको भेलाले पार्टी सभापति देउवालाई रचनात्मक दबाब दिनेबारेमा छलफल गरेकाे हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता चन्द्र भण्डारीले बैठकमा देशको आर्थिक, समसामयिक राजनीति, गठबन्धनात्मक विषयहरूमा छलफल गरेको बताउनुभयो । उहाँले छलफलमा पार्टीको आन्तरिक कुरामा पनि जोड दिएको सुनाउनुभयो । 

उहाँले भन्नुभयो, ‘देशको अहिलेको समसामयिक राजनीति, गठबन्धन, देशको आर्थिक अवस्था र आउँदै गरेको चुनावको बारेमा छलफल भएको छ । पार्टीको आन्तरिक कुरामा पनि हामीले छलफल गरेका छौँ । आजको बैठकमा कन्स्ट्रक्टिभ विद्रोहको पनि कुरा भएको छ ।’

नेता भण्डारीले छलफलमा राजनीतिक सोचाइमा परिवर्तन र त्यसको आधारमा आफ्नो समूहको विचारलाई कसरी अघि बढाउने भन्नेबारेमा पनि छलफल भएको बताउनुभयो । उहाँका अनुसार बैठक भोलि (शुक्रवार) २ बजेपछि फेरि बस्ने गरी स्थगित भएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया