५ बुँदे माग राख्दै किसानले लगाए मधेसकाे कृषि मन्त्रालयमा ताला

 असार १६, २०७९ बिहिबार २०:१५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरूले ताला लगाएका छन् । 

किसानहरुले पाँच बुँदे माग राख्दै आज बिहीवार मन्त्रालयको लेखा तथा खाद्य सुरक्षा महाशाखामा ताला लगाएर धर्नासमेत बसेका छन् । किसानहरूले अदालतको आदेशअनुसार शीत भण्डार निर्माणको रकम भुक्तानी हुनुपर्ने, समयमा पर्याप्त मल, खाद्य, बिउ उपलब्ध गराउनुपर्ने, मन्त्रालयको अनुदान सेवा, सुविधा र विभिन्न योजना एकरूपता गरी किसानहरूको हकहित सुनिश्चितता हुनुपर्ने, विभिन्न कारणले बालीहरूमा भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने मागसहित धर्नामा बसेका छन् । जनता समाजवादी पार्टी नेपालका प्रदेश उपाध्यक्ष शेषनारायण यादवले आफूहरूको माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी पनि दिनुभयो । 

धनुषाको लक्ष्मीनिया गाउँपालिकाको ३ मा जनहित कृषक समूहका किसानहरूको चिस्यान केन्द्रमा झन्डै साढे दुई करोड रुपैयाँ लगानी गरेको तीन वर्ष हुँदा पनि भुक्तानी नपाउँदा समस्या परेका छन् । त्यस्तै सर्लाहीको बरहथवा नगरपालिकामा निर्माणाधीन अवस्थामा भएको चिस्यान घरको निर्माणमा साढे दुई करोड रुपैयाँ खर्च भए पनि मन्त्रालयले भुक्तानी दिन नमानेपछि त्यहाँका किसानहरू पनि समस्यामा परेका छन् । 
 

अन्तिम अपडेट: असार १७, २०७९

तपाईको प्रतिक्रिया