पटक–पटक स्थगित हुँदै आएको माओवादीको केन्द्रीय समिति बैठक आज बस्दै

 असार १९, २०७९ आइतबार ७:५५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पटक–पटक स्थगित हुँदै आएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठकको प्रमुख कार्यसूची सङ्गठनसम्बन्धी विषय रहेको पार्टी कार्यालयका सचिव श्रीराम  ढकालले जानकारी दिनुभयो ।

केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो  र स्थायी समितिको चयन तथा कार्यविभाजन पनि कार्यसूचीमा रहेको उहाँले बताउनुभयो । बैठकमा गएको बैशाख ३० गते भएको पालिका चुनावको समीक्षा तथा  आउँदो प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव तयारीबारे पनि छलफल हुनेछ । २०७८ पुस १८ गते काठमाण्डौमा सम्पन्न पार्टीको आठौँ महाधिवेशन २ सय ४६  सदस्यीय केन्द्रीय समिति चयन गरेर सम्पन्न भएको थियो ।

पुस १९ गते  सम्पन्न  केन्द्रीय  समितिको  पहिलो  बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो ।  अध्यक्षबाहेकका अन्य पदाधिकारी अहिलेसम्म चयन हुन सकेको छैन । आठौँ महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव,  सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ तर पदाधिकारीको सङ्ख्या भने तोकिएको छैन  । महाधिवेशनले २ सय ९९ केन्द्रीय समिति रहने व्यवस्था गरेको छ । थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ । साथै  थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ ।

मनोनीत र वैकल्पिक केन्द्रीय सदस्य चयन पनि बाँकी नै छ । महाधिवेशन सम्पन्न भएपछि पटक–पटक केन्द्रीय  समितिको बैठक सर्दै आएको  थियो  ।  गएको जेठ  २०  गते  बस्ने  भनिएको  बैठक असार १५ गतेलाई  सारिएको  थियो  । असार १५ गतेबाट १९ गतेका लागि तोकिएको थियो ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया