पोखरा स्पोर्टस् अवार्ड : प्रदीप र अरुणा सर्वोत्कृष्ट, भट्टराईलाई लाइफटाइम अचिभमेन्ट

 असार १९, २०७९ आइतबार १०:३३:५८ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरा स्पोर्टस अवार्डको छैंठौ संस्करणमा टेनिसका प्रदीप खड्का र भलिबलकी अरुणा शाहीले सर्वोत्कृष्ट वर्ष खेलाडीको उपाधि जितेका छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार अबेर भएको घोषणामा लाइफ टाइम अचिभमेन्ट सहित विभिन्न ७ विधामा आवार्ड वितरण गरेको थियो ।

पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी बनेका प्रदीप खड्काले ब्याडमिन्टनका विधान अधिकारी र करातेका बुद्ध लामालाई पछि पार्दै उपाधि जिते । त्यसै गरी अरुणाले क्रिकेटकी मनिषा उपाध्याय र करातेकी सरगम कुमाललाई पछि पार्दै उपाधि जितेकी थिइन् । उनको कप्तानीमा नेपालले २०७८ सालमा ढाकामा भएको सेन्ट्रल जोन भलिबल प्रतियोगितामा स्वर्ण पदक हात पारेको थियो । 

विजेता दुवैले इलेक्ट्रिक स्कुटरसहित ट्रफी हात पारेका छन् । अवार्डमा टेनिस खेलको बर्चसो देखिएको छ । टेनिसबाट वर्ष उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक र उपदयमान खेलाडी गरेर ३ जनाले अवार्ड हात पारे ।

वर्ष उदीयमान खेलाडीमा क्रिकेटकी श्रृष्टि जैसी, बक्सिङका शाहिल लिम्बुलाई पछि पार्दै  टेनिसका दर्शिल श्रेष्ठले उपाधि हात पारे । उनले नगद ३५ हजार रुपैयाँ र ट्रफी जित्न सफल भए । वर्षोत्कृष्ट प्रशिक्षक विधामा टेनिसका निरज थापाले हात पारेका छन् । उनले ३५ हजार रुपैयाँसहित ट्रफी पाएका छन् । उक्त विधामा उत्कृष्ट ३ भित्र क्रिकेटका रिजन प्रजु र तेक्वान्दोका रेकमाया गुरुङ परेका थिए । 

यसैगरि वर्षोत्कृष्ट खेल संघ गण्डकी प्रदेश तेक्वान्दो संघले हात पारेको छ । संघले अवार्ड सहित ३५ हजार रुपैयाँ हात पारेको छ । त्यसै गरी मञ्चले वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डबाट दीपक परियारलाई सम्मान गरेको छ । कान्तिपुर मिडियासँग आवद्ध परियारलाई ३५ हजार रुपैयाँ दोसल्लासहित पुरस्कृत गरेको छ । 

मञ्चले छैटौं संस्करणको लाइफटाइम अचिभमेन्ट सम्मानबाट गणेशबहादुर भट्टराई सम्मानित गरेको छ । उनी बक्सिङका पूर्व अन्तर्राष्ट्रिय खेलाडी हुन् । लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका भट्टराईले सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेका थिए । उनी सन् १९८९, १९९० र १९९१ मा बक्सिङमा राष्ट्रिय च्याम्पियनसमेत बनेका थिए । उनलाई सम्पानपत्र, चाँदीको करुवा र दोसल्लाले सम्मान गरे । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोख्ररेल, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी पोखरा महानगरका मेयर धनराज आचार्य, उपमेयर मन्जुदेवी गुरुङ लगाएतले उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरेका थिए ।

अवार्ड वितरण समारोहमा गायक विनोद वानिया, हाँस्य कलाकार युवराज भण्डारी, गायक सन्तोष बस्याल, गायिका प्राप्ति तुलाचन, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको लाइभ दोहोरी, गण्डकी प्रज्ञा प्रतिष्ठानको कल्चरल नृत्य र खेल डेमोस्ट्रेसनलगायतले कार्यक्रमको माहोल तताएको थियो  ।

अन्तिम अपडेट: चैत १४, २०८०

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया