‘मलेसियामा श्रमिककाे तलब बढ्याे भनेर खुसी हुनुपर्ने केही छैन, महँगी उस्तै छ !’

 असार १९, २०७९ आइतबार १३:२६:३९ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

छत्र लकाई खड्का / मोरङ्ग, हाल मलेसिया ।

मलेसिया सरकारले केही महिना पहिले यहाँ कार्यरत आप्रवासी श्रमिकको तलब बढाएर १५ सय रिङ्गिट बनाएकाे छ । त्यही नियमलाई यहाँका लगभग सबैजसाे कम्पनीहरुले लागू गरि पनि सकेका छन् ।

यही बढेकाे तलबलाई देखाएर नेपालका अधिकांश मेनपावर कम्पनीले मलेसिया आउन चाहने नेपालीहरुबाट मोटो रकम लिँदै गरेका छन् भन्ने सुनिन्छ । हालै राेजगारीकाे लागि नेपालबाट मलेसिया आएका दाजुभाइ तथा दिदीबहिनीहरु यसबारे गुनासाे पाेख्छन् । एउटा कम्पनीमा अथवा सुरक्षा गार्डको कामका लागि आउन मेनपावरहरुलाई कम्तीमा १ लाख देखि ३ लाख रुपैयाँसम्म बुझाएकाे उनीहरु बताउँछन् । 

बेरोजगार भएर बस्नुपर्दा र घरकाे ऋण तिर्न नसक्दा युवाहरु तनावमा हुन्छन् । त्यसैमाथि वैदेशिक राेजगारीकाे लागि मेनपावर धाउँदा धाउँदा थाकेर आ, जेसुकै होस्, जस्तोसुकै काम होस् जानपाए भयो भनेर पनि आउन बाध्य छन् ।मेनपावर सञ्चालक भने कामदारलाई जहाजमा चढाइसकेपछि काम बन्यो भन्ने ठान्छन् । तर यता पुगेपछि कामदारले जस्ताे दु:ख पाए पनि मत्लब गर्दैनन् । जस्तोसुकै परिस्थितिमा पनि कामदार काम गर्न बाध्य हुन्छन् ।

दु:खको कुरा त हाम्रो देशमा जति सरकार परिवर्तन भए पनि युवाकाे लागि कसैले राेजगारी ल्याउन सकेनन् । लाखौं युवाहरुले आफ्नो देशमा रोजगारीका कुनै अवसरहरु पाउँदैनन् र यसैगरि खाडी र मलेसिया आउँछन् । चुनावका बेला युवालाई रोजगारीका लागि म यस्तो गर्छु उस्तो गर्छु भनेर चुनावी नाराहरु चर्का लगाए पनि चुनाव जितेर गएपछि फर्केर आउँदैनन् । आफ्ना वाचाकसम बिर्सिन्छन् । 

अब कुरा गरौँ मलेसियामा कमाइकाे बारे । पछिल्लो समय सरकारले कामदारकाे आधारभूत तलब बढाएर १५ सय रिङ्गेट बनाए पनि हामी श्रमिकलाई त्यसले केही फाइदा भएकाे छैन । मलेसियामा श्रमिककाे तलब बढ्याे भनेर खुसी हुनुपर्ने केही छैन, महँगी उस्तै छ । जति तलब बढ्याे त्याे भन्दा बढी महँगी बढेकाे छ । सरकारले तलब बढेकाे घाेषणा गर्ने बित्तिकै मलेसियामा हरेक उपभोग्य वस्तुहरु जस्तै दाल,चामल,तेल,तरकारी,माछामासु सबैकाे भाउ ४/५ रिङ्गिटको दरले महङ्गो भएको छ । रुस र युक्रेनको लडाइँको कारण महङ्गी बढेको हो भन्छन् । जतिसुकै महँगी भए पनि आखिर खानै पर्छ ।

हिजोका दिनहरूमा एकजनालाई साधारण खानाको खर्च २५०/३०० रिङ्गिटसम्मले जसाेतसाे पुग्थ्यो तर अहिले कम्तीमा पनि ३००/५०० रिङ्गिटसम्म एकजनालाई महिनाको खाना खर्च पुग्न थालेको छ अनि कतिपय कम्पनीहरुले आधारभूत तलब बढाएपछि ओभरटाइम पनि कटौती गरेका छन् । अबका दिनमा मलेसियाकाे कमाइले घर,घडेरी जोडौँला भन्ने कुराहरू त 'सम्झिने पानी छम्किने' भनेझैं हाेला जस्ताे छ । त्यसैले नेपालबाट मलेसियामा रोजगारीका सिलसिलामा आउन लाग्नुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले ठूला सपना बाेकेर नआउँदा राम्रो होला कि ।

अनि मुख्य कुरा मलेसियामा सुरक्षाका दृष्टिकोणले पनि नेपालीहरुलाई निकै जोखिमपूर्ण छ । पछिल्लो केही हप्ता पहिले मलेसियाको जोहोरबारु राज्यमा एकजना नेपालीलाई मलेसियाका कालेहरुले मारेर नालामा फ्याँकेको कुरा सुनेर पनि आङ्ग जिरिङ्ग भएर आउँछ । अनि मलेसियामा अवैधानिक रुपमा कार्यरत नेपाली दाजुभाइ दिदीबहिनीहरु हुनुहुन्छ भने एकदमै बचेर काम गर्न म सबैलाई आग्रह गर्छु । अहिले मलेसिया सरकारले अवैधानिक आप्रवासी कामदारकाे विरुद्धमा व्यापक रुपमा धरपकट गरिरहेको छ । त्यसैले सबैलाई सचेत भएर बस्न म आग्रह गर्छु ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया