माओवादी बैठक : पदाधिकारी टुङ्गाे लगाएर मात्रै निस्किन माग

 असार १९, २०७९ आइतबार १४:५८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएकाे छ । माओवादी केन्द्रको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आज आइतवारदेखि काठमाण्डाैमा रहेकाे प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो । बैठक आउँदाे मङ्गलवारसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ । 

बैठकले नाै वटा एजेन्डामा छलफल गर्ने पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराउनुभएको छ । उहाँले बैठकको एजेन्डाहरूमा शहीदहरूप्रति श्रद्धाञ्जली, नयाँ केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे पार्टी अध्यक्षबाट जानकारी र प्रदेशहरूको तर्फबाट सङ्क्षिप्त रिपोर्टिङ गर्ने रहेको बताउनुभयो । 

प्रदेशको तर्फबाट प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्ने र मधेस प्रदेशको हकमा भने प्रदेश इन्चार्जले रिपोर्टिङ गर्ने उहाँले जानकारी दिनुभयो । त्यसैगरी बैठकको कार्यसूचीमा अध्यक्ष प्रचण्डबाट वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा रिपोर्टिङ हुने पनि राखिएको छ । माओवादी केन्द्रको यस केन्द्रीय कमिटी बैठकको अन्य एजेन्डाहरूमा पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीको चयन गर्ने, कार्यविभाजन गर्ने, पालिका चुनावकाे समीक्षा गर्ने, आउँदाे प्रदेश र सङ्घीय चुनावकाे तयारी तथा विविध विषयमा छलफल हुने अध्यक्ष प्रचण्डले बताउनुभयो ।

महाधिवेशनदेखि नै रिक्त रहेको पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने कार्यसूची अध्यक्ष प्रचण्डले पेस गरेसँगै सबै समिति बन्नेमा बैठकमा सहभागी हुन आएका नेताहरू आशावादी देखिएका छन् । अर्कोतर्फ एजेन्डामा राखेर अन्तिममा निर्णय नहुने हो कि भन्ने आशङ्का पनि नेताहरूले गरेका छन् । 

बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै केन्द्रीय सदस्य लेखनाथ दाहालले यस पटक पार्टीको सबै समिति बन्नुपर्नेमा केन्द्रीय सदस्यहरू एकमत भएको बताउनुभयो । उहाँले पार्टीको सङ्गठनात्मक संरचना चुस्त, दुरुस्त नबनाइकन पार्टीलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न नसकिने भएकाले पदाधिकारीलगायतका समिति चयन गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो पटक हाम्रो केन्द्रीय समितिको बैठकले कार्यसूचीअनुसार नै सबै निर्णय गर्नेछ । पोलिटब्युरो, स्थायी समिति र सङ्गठनात्मक संरचनाको बारेमा नयाँ निर्णय लिनुपर्ने आवश्यकता महसुस भइसकेको छ । अब चयन गरेरै निस्किने कुरा चाहिँ हाम्रो पार्टीको सङ्कल्प हो । पार्टीलाई बलियाे बनाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र आउँदाे चुनावकाे तयारी गर्न पनि सङ्गठनात्मक संरचनामा केही हेरफेर गर्नुपर्ने र नेतृत्वको कार्यविभाजन गर्नुपर्ने केन्द्रीय समितिका सबै सदस्यको माग छ ।’

पार्टी अध्यक्षलाई पार्टीका सबै संरचना चलाउनुपर्ने र राष्ट्रिय राजनीतिमा पनि भूमिका खेल्नुपर्ने भएको हुँदा धेरै बोझ भएको भन्दै उहाँकाे सहयाेगका लागि पनि छिटो भन्दा छिटो पार्टीका समितिहरू बन्नुपर्नेमा उहाँकाे जोड छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया