एसपीपीमा सहभागी नहुने निर्णय अमेरिकालाई उपयुक्त समयमा पठाइन्छ : परराष्ट्र प्रवक्ता

 असार १९, २०७९ आइतबार १५:५५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने मन्त्रिपरिषद्को निर्णयबारे अमेरिकालाई पत्र पठाउने काम भइनसकेको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेकाे छ । 

आज आइतवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यस्ताे बताउनुभएकाे हाे । एसपीपीबारे मन्त्रिपरिषद्ले गरेको निर्णय मन्त्रालयमा आएको तर अध्ययन भइरहेकाले पत्र भने गइनसकेको उहाँको स्पष्टीकरण थियो । 

उहाँले भन्नुभयो, ‘एसपीपीको पहिले भएको पत्राचारमा परराष्ट्र मन्त्रालय सहभागी थिएन । अब हामीलाई मन्त्रिपरिषद्को निर्णयअनुसार एउटा म्यानुअल प्राप्त भएको अवस्था छ । त्यसकाे अध्ययन गरेपछि उपयुक्त समयमा मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयन गर्छाैँ । अहिले त्यो पत्र गइसकेकाे अवस्था छैन । जान्छ, तपाईँहरू ढुक्क हुनुहोस् ।’

मन्त्रालयले विगत तीन महिनायता राहदानी लिनेको सङ्ख्या उल्लेख्य वृद्धि भएको पनि जानकारी दिएकाे छ । सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट पनि राहदानी लिनका लागि नियमित रूपमा आवेदन भर्ने व्यवस्था मिलाइएको मन्त्रालयकाे भनाइ छ । राहदानी लिनका लागि सहज बनाउन राहदानी विभागले अनलाइन सेवालाई पनि चुस्त राख्ने काम गरिरहेको मन्त्रालयकी प्रवक्ता लम्सालले बताउनुभयो ।

यस्तै मन्त्रालयका अनुसार राहदानी विभागबाट असार १५ गतेसम्म चार लाख १६ हजार दुई सय ३५ थान विद्युतीय राहदानी प्रिन्ट गरिएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया