अब सूचना विभागका सबै सेवा अनलाइनबाटै

 असार १९, २०७९ आइतबार १७:०:१५ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सबै सेवा अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बीआरएलएमएस, डीएमएस, सूचना व्यवस्थापन प्रणाली र क्यास एसएमएस अनलाइन प्रणालीको आज आइतवार उद्घाटन गर्नुभयो । 

कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले विज्ञान प्रविधि क्षेत्र देशको समृद्धिसँग जोडिएको उल्लेख गर्दै विभागले सुरु गरेको अनलाइन सेवालाई प्रयोगकर्तामैत्री, समाज उपयोगी, प्रभावकारी, प्रेरणादायी, उदाहरणीय र सुरक्षित बनाउन निर्देशन दिनुभयो । सूचना र प्रविधि क्षेत्रको महत्त्वलाई बुझेर विदेशिएका युवालाई त्यस क्षेत्रमा आकर्षित गर्दै आईटिभित्र देशको भविष्य खोज्नुपर्ने उहाँको भनाइ छ ।

मन्त्री कार्कीले जलस्रोत, पर्यटन र व्यावसायिक कृषिमा जस्तै आईटीको क्षेत्रमा पनि स्वर्णीम भविष्य रहेको बताउनुभयो । आईटीको क्षेत्रमा रहेको सम्भावनालाई आउँदा दिनमा व्यावहारिक रूपमै अवसरमा परिणत गर्नुपर्ने उल्लेख गर्दै उहाँले देशलाई समृद्ध बनाउने सरकारको लक्ष्यअनुसार अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 

विभागले अनलाइन सेवाअन्तर्गत सूचना व्यवस्थापन प्रणाली गएको वर्षदेखि सुरु गरेको थियो । चालु आर्थिक वर्षमा नौ सय २७ पत्रपत्रिका, ३८ टेलिभिजन, दुई सय ५१ रेडियो र एक हजार चार सय ९७ अनलाइनले दरबन्दी बुझाएको विभागले जनाएको छ । अहिलेसम्म प्रेस प्रतिनिधि प्रमाणपत्र लिने पत्रकारको सङ्ख्या ३१  हजार २५ रहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो । 

चालु आवमा दुई हजार ९२ प्रेस पास वितरण गर्नुका साथै दुई हजार पाँच सय ५७ प्रेस पास नवीकरण गरिएको छ । त्यसैगरी चालु आवमा दर्ता ६ सय ६२ र नवीकरण ६ सय ७७ गरी अहिलेसम्म तीन हजार चार सय ६३ अनलाइन दर्ता भइसकेको महानिर्देशक हमालले जानकारी दिनुभयो ।

सञ्चार सचिव डा. वैकुण्ठ अर्यालले डिजिटल नेपालको आकाङ्क्षा पूरा गर्ने उद्देश्यले सञ्चार मन्त्रालयका ९० प्रतिशत सेवा अनलाइनबाटै प्रदान गर्दै आएको जानकारी दिनुभयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष सङ्गीता खड्का र नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 

विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र, परिचयपत्र जारी तथा नवीकरण, अनलाइन सञ्चार माध्यम दर्ता तथा नवीकरण, पत्रपत्रिका तथा पत्रकारको अभिलेख व्यवस्थापन, सार्वजनिक सूचना व्यवस्थापन र वितरण, प्रेस रजिस्ट्रारको कार्य जिम्मेवारी सम्पादन, सरकारी कार्यक्रमको औपचारिक फोटोग्राफी, सङ्ग्रह र वितरण तथा सूचनामूलक र ज्ञानवर्द्धक सामग्री प्रकाशन वितरणलगायतका कार्य गर्दै आएको छ । त्यही अवसरमा सञ्चार मन्त्री कार्कीले विभाग, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिको स्थलगत निरीक्षणसमेत गर्नुभएको थियो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया