पञ्चदेवल विनायककी मेयर चलाउने पक्राउ

 असार १९, २०७९ आइतबार १७:७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ पर्नुभएको छ । 

पञ्चदेवल विनायक नगरपालिका ४ का १५ वर्षका विनोद शाहीको मृत्यु प्रकरणमा आरोपित नवनिर्वाचित मेयर चलाउनेलाई अहिले बयानका लागि सरकारी वकिलको कार्यालयमा राखिएको छ । मेयर चलाउने हिजाे शनिवार आफैँ प्रहरी कार्यालय पुग्नुभएकाे अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले जानकारी दिनुभयो । मेयरसँगै अर्का एक जना आरोपी पनि प्रहरी कार्यालय पुगेका छन् । 

मेयर चलाउने र अर्का एक जनासहित अहिलेसम्म यो मुद्दामा सात जना पक्राउ परिसकेका छन् । गएको वैशाख १७ गते बेपत्ता भएका पञ्चदेवल विनायक नगरपालिकाका शाहीको शव २० गते भेटिएको थियो । जेठ २६ गते शाहीका परिवार र आफन्तले नवनिर्वाचित मेयर चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । 

नेकपा एमालेले शाहीको हत्या प्रहरी प्रशासनको बलमा नेपाली कांग्रेसका कार्यकर्ताबाट भएको आरोप लगाएको छ । कांग्रेसले भने त्याे आरोपको खण्डन गरेको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया