प्रचण्डकाे प्रतिवेदन : माओवादी फेरि शक्तिशाली बन्ने स्पष्ट सङ्केत देखिएको छ

 असार १९, २०७९ आइतबार १८:४८:९ | रासस
unn.prixa.net

काठमाण्डौ – पटक पटक सर्दै आएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकमा सहभागीले पार्टीभित्रको साङ्गठनिक अराजकतालाई तत्काल सच्याएर जानुपर्नेमा जोड दिएका छन् । गएको पुसमा पार्टीको आठौँ महाधिवेशन सम्पन्न भयो । त्यसले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड लाई चयन गर्‍यो । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहितको पदाधिकारी चयन गर्ने गरी विधानमा प्रबन्ध गरिएको छ । विधानमा व्यवस्था भए पनि व्यावहारिक रूपमा कार्यान्वयन हुन नसक्दा पार्टीले गति लिन नसकेको भन्दै समय थप गरेर भए पनि टुङ्गो लगाउनुपर्ने माग उठेको छ ।

काठमाण्डौको कमलादीमा आज आइतवारदेखि सुरु भएको बैठकमा धारणा राख्ने क्रममा बाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले पार्टीको पदाधिकारी चयन, केन्द्रीय समितिलाई पूर्णता, विभागहरूलाई क्रियाशील बनाएर स्पष्ट कार्ययोजनाका साथ जनतामा जानुपर्नेमा जोड दिनुभयो ।

बैठकको सुरुमा नै अध्यक्ष प्रचण्डले पूर्व स्थायी समितिको बैठकबाट पार्टीको केन्द्रीय समितिमा मनोनित गरिएका केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । बैठकमा अध्यक्ष प्रचण्डले विभिन्न नौ वटा एजेन्डामा छलफल हुने जानकारी गराउनुभएको थियो ।

त्यसमा नयाँ सदस्यहरूको शपथ ग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्टिङ, सङ्गठनात्मक विषय, पालिका चुनावको समीक्षा, आउँदो प्रदेश र सङ्घको चुनावको तयारी र विविध विषय समावेश गरिएको थियो ।

प्रदेशहरूको विवरण प्रस्तुत गर्ने क्रममा विशेष प्रदेश समितिका अध्यक्ष जगत सिंखडाले पनि पार्टीले अवलम्बन गरेको गठबन्धनको नीतिप्रति तिखो टिप्पणी गर्नुभएको थियो । उहाँले गठबन्धन भन्दै जाँदा पार्टीको स्वतन्त्र पहिचान नै गुम्न थालेको, चुनाव चिह्न नै बिर्सने अवस्था आएको बताउनुभयो । अध्यक्ष सिंखडाले गएको वैशाख ३० गते सम्पन्न पालिका चुनावमा गठबन्धनबाट सबैभन्दा बढी फाइदा नेपाली कांग्रेसले लिएको टिप्पणी गर्नुभयो ।

‘एउटा वडा जित्दासमेत खुसी हुनुपर्ने अवस्था आयो । एक्ला–एक्लै लडेको भए पनि अहिले प्राप्त भएको भन्दा धेरै ठाउँमा जित निकाल्न सकिने रहेछ । हामी गठबन्धनमा इमानदार भए पनि कांग्रेसले इमानदारिता देखाएन’, उहाँले भन्नुभयो, ‘राजधानी  र मधेस प्रदेशमा हाम्रो उपस्थिति प्रभावकारी बन्न सकेन । यसमा निर्मम समीक्षा गरौँ ।’

अघिल्ला बैठकमा अध्यक्षका तर्फबाट राजनीतिक प्रतिवेदन पेस गर्ने गरिएको भए पनि यस पटक संक्षिप्त टिपोट प्रस्तुत गरेर त्यसमा छलफल गराउन लागिएको छ । अध्यक्ष प्रचण्डले १० पेज लामो संक्षिप्त राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । त्यसमा पार्टीले आउँदा दिनमा अवलम्बन गर्नुपर्ने नीति, योजना र कार्यक्रमका बारेमा उल्लेख गरिएको छ । 

‘नयाँ संविधानअन्तर्गत दोस्रो पटक सङ्घीय एवम् प्रादेशिक चुनाव केही महिनामा हुँदैछ । पालिका चुनावमा हाम्रो पार्टीलाई पराजित गर्ने र सीमान्त शक्तिमा बदल्न चाहने शक्तिहरू स्वयम् नराम्ररी पराजित भएका छन् । माओवादी पार्टी फेरि शक्तिशाली बन्ने स्पष्ट सङ्केत देखिएको छ । यस चुनावको शिक्षालाई गम्भीर रूपमा आत्मसात् गर्दै आउँदो आम चुनावको घनीभूत तयारीमा लाग्नु आजको प्रमुख जिम्मेवारी हो’, अध्यक्ष प्रण्डको प्रतिवेदनमा भनिएको छ । 

सङ्गठनात्मक कामअन्तर्गत सङ्गठानात्मक कार्यदिशालाई लागू गर्न पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन गरी केन्द्रीय समितिलाई पूर्णता दिने, नयाँ सन्दर्भमा आयोगलाई पूर्णता दिने, सल्लाहकार, जेष्ठ कम्युनिस्ट मञ्चलाई पूर्णता दिइ बैठक बोलाउने, विभागलाई कामकाजी बनाउने, आउँदो चुनावका लागि प्रतिबद्धतापत्रका लागि सुझाव सङ्कलन र तयारी गर्ने, माओवादी धाराका नेता तथा कार्यकर्ता र समर्थकलाई प्रभावकारी योजना बनाइ मूल घरमा फिर्ता ल्याउने विषय समेटिएको छ ।

वामपन्थी धाराका नेता तथा कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई प्रभावकारी कार्यक्रमका साथ पार्टीमा समाहित हुन आग्रह गर्ने, विभिन्न पार्टीसँग एकताका लागि पहल गर्ने, पालिका चुनावको अनुभवका आधारमा वर्तमान गठबन्धनलाई प्रभावकाारी बनाउन जोड गर्ने विषय सङ्गठनात्मक कामका रूपमा उल्लेख गरिएको छ । 

जनयुद्धको जग र जनआन्दोलनको समायोजनमा आजको परिवर्तन सम्भव भएको तथ्य पेस गर्दै अध्यक्ष प्रचण्डले तीव्र गतिमा आर्थिक विकास, समृद्धि, सामाजिक न्यायमा आधारित नयाँ नेपालको खाका तयार पार्न आवश्यक रहेको ठहर गर्नुभएको छ । पार्टीले विज्ञ, विशेषज्ञसँग छलफल गरेर आउँदो चुनावको प्रतिबद्धतापत्र तयार पार्ने प्रचण्डको प्रतिवेदनमा उल्लेख छ ।

सम्पूर्ण केन्द्रीय सदस्यलाई र्यविभाजनसहित निर्वाचन क्षेत्रमा पठाउने, सङ्घ र प्रदेशमा जनसहभागितामा चुनावी प्रतिबद्धतापत्रको तयारी गर्ने, निर्वाचन क्षेत्रको तथ्याङ्क सङ्कलन र विश्लेषण गर्ने, निर्वाचन क्षेत्रका आधारित सङ्गठन परिचालन, स्थितिको आँकलन र जन अपेक्षामा आधारित निर्वाचनमा विजयी हासिल गर्ने रणनीति बनाउने अध्यक्ष प्रण्डको प्रतिवेदनमा समावेश छ ।

बैठकमा अध्यक्ष प्रचण्डले नयाँ आधारमा वामपन्थी शक्तिबीच एकता, सहकार्य र चुनावी मोर्चाबन्दी हुन सक्ने बताउनुभएको थियो । त्यसका लागि सामान्य छलफल भएको समेत उहाँले जानकारी दिनुभएको थियो ।

यस्तै पार्टीको सहायक सङ्गठन वाईसीएल, महिला सङ्गठनलगायतका जनवर्गीय सङ्गठनको भेला आयोजना गर्ने, स्पष्ट कार्ययोजनाका साथ उनीहरूलाई परिचालन गर्ने विषय पनि समावेश गरिएको प्रतिवेदनमा संविधानको रक्षा, प्रतिगमनको विरोध गर्ने समूह र शक्तिसँग सहकार्य गर्ने विषय समावेश गरिएको छ ।

अध्यक्ष प्रचण्डले पार्टीको साङ्गठनिक अवस्थाको बारेमा अन्य दलसँग तुलना गर्दै ग्रामीण क्षेत्रमा माओवादीप्रति जनताको आकर्षण उस्तै रहेको उल्लेख गर्नुभएको छ ।

आजको बैठकमा सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी, कर्णाली प्रदेश अध्यक्ष विमला केसी, मधेश प्रदेशका इञ्चार्ज गणेश साहलगायतले आफ्नो प्रदेश मातहतको विवरण पेस गर्नुभएको थियो । उहाँहरूले विशेष गरी माओवादी बलियो भएको ठाउँमा अन्य दलसँग गठबन्धन गरेर कांग्रेसले समेत आफूहरूलाई हराउन सहयोगी बनेको बताउनुभएको थियो । कर्णाली प्रदेश अध्यक्ष केसीले पालिका चुनावमा गडबढी भएको भन्दै त्यस्तो प्रवृत्ति आउँदा दिनमा हट्नुपर्ने धारणा राख्नुभयो । बैठक भोलि सोमवार फेरि बस्नेछ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया