नेपाललाई अभ्यास खेलमा लगातार दोस्रो जित, ओन्टारियो क्लब ५५ रनले पराजित

 असार २०, २०७९ सोमबार ६:३९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई नेपालले ५५ रनले हराएको हो ।

नेपालले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको ओन्टारियो १९ ओभर ३ बलमा अलआउट हुँदै  १ सय ५४ रनमा समेटियो । ओन्टारियोका  लागि भरुण सेहदेवले ५० रनको अर्धशतकीय पारी खेले भने नरेश बुढाऐरले ४१, जाडे पाडेमोरले ३७ रन बनाए ।

नेपालका सोमपाल कामीले २ तथा करण केसी, आदिल आलम र किशोर महतोले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेल ७१ रनको योगदान दिए भने र दीपेन्द्र सिंह ऐरीले ५४ रनको अर्धशतकीय पारी खेले । यस्तै, पवन सर्राफले ३७, देव खनालले २० रन जोडे । ओन्टारियोका रेमन्ड, भरुण सेहदेव र किनान टिन्टोले १/१ विकेट लिए ।

यसअघि शुक्रवार राति भएको एक दिवसीय खेलमा नेपालले ओन्टारियोलाई  ६९ रनले हराएको थियो । क्यानडासँगको श्रृङ्खला अघि नेपालले अभ्यास खेल खेलेको हो ।अब नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एक दिवसीय श्रृङ्खला खेल्नेछ ।

नेपाल र क्यानडाबीचको पहिलो एक दिवसीय जुलाई ५ तारिख र दोस्रो एक दिवसीय जुलाई ६ तारिखमा हुनेछ । त्यसपछि नेपालले स्कटल्यान्डमा विश्व कप लिग टु अन्तर्गतको त्रिदेशीय एक दिवसीय श्रृङ्खला खेल्नेछ। 

तस्बिर : क्यान
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया