इन्धन सकियाे, अब एक दिनकाे लागि मात्रै सञ्चय : श्रीलङ्का

 असार २०, २०७९ सोमबार ७:२०:५० | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

श्रीलङ्काका ऊर्जा मन्त्री कञ्चना विजेसेकेराले देशमा इन्धन सकिएको बताउनु भएको छ । अब एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको उहाँको भनाइ छ ।

मन्त्री विजेसेकेराले श्रीलङ्कामा पेट्रोल भण्डार झन्डै चार हजार टन रहेको र यसले एक दिनको माग पनि धान्न नसक्ने बताएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । देशमा आर्थिक सङ्कट थप जटिल बन्दै जाँदा सार्वजनिक यातायात इन्धन अभावका कारण ठप्प भएको छ । धेरैजसो पेट्रोल पम्पमा तेल छैन ।

तेलको खोजीमा राजधानीका धेरै ठाउँमा नागरिकको लामो लाइन लाग्ने गरेको छ । मन्त्री विजेसेकेराले पेट्रोल तथा डिजल जुलाई २२ र २३ तारिखअघि आइपुग्ने सम्भावना कम रहेको पनि बताउनु भएको छ । तेलका लागि नियमितबाहेकका अन्य आपूर्तिकर्तासँग सम्पर्क गरेको तर जुलाई २२ तारिखअघि कुनै पनि नयाँ आपूर्तिले तेल पठाउने आश्वासन नदिएका उहाँको भनाइ छ ।

गएको हप्ता, नगद अभावको कारण श्रीलङ्काले पेट्रोल र डिजल बचत गर्न आवश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई हप्ता रोक्ने घोषणा गरेको थियो । आज बैंक तथा कार्यालय पुनः खोलिँदा स्थिति खराब हुने अनुमानसहित श्रीलङ्काका धेरैजसो  पेट्रोल पम्प हिजोदेखि बन्द भएका छन् ।

विदेशी मुद्राको अभावले खराब आर्थिक सङ्कट बेहोरिरहेको श्रीलङ्काले अति आवश्यक समग्रीको आयातलाई समेत धान्न नसकेपछि त्यहाँका २ करोड २० लाख नागरिकको जनजीवन कष्टकर बनेको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया