अर्थ मन्त्रीले तत्काल राजीनामा दिनुपर्छ, नभए प्रधानमन्त्रीले हटाउनुपर्छ : गगन थापा

 असार २०, २०७९ सोमबार १८:१६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थ मन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ । 

आज सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले यस्ताे प्रतिक्रिया दिनुभएकाे हाे । अर्थ मन्त्री शर्माको सम्बन्धमा संसदभित्र र बाहिर प्रश्न उठेकोले राजीनामा दिनुपर्ने उहाँले बताउनुभयो । 

महामन्त्री थापाले अर्थ मन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने टिप्पणी गर्नुभयाे । उहाँले भन्नुभयो, ‘अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसकेपछि तत्काल प्रधानमन्त्रीले यसबारेमा एक्शन लिनुपर्छ । मेराे बुझाइमा अर्थ मन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ, कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनुपर्छ । यसबारेमा तत्काल छानबिन गर्नुपर्छ । बजेटमा करकाे दर हेरफर गरिएकाे भनिएकाे छ, करको दर भनेको चाहिँ सामान्य कुरा होइन । कसैले सामान्य मानवीय त्रुटि भयो भनेर यसबाट जान पाउने कुरा पनि छैन ।’

महामन्त्री थापाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज नरहेको विषय बाहिर आएपछि झनै प्रश्न उठेको बताउनुभयो । उहाँले अर्थ मन्त्री शर्मालाई राजीनामाका लागि आफूहरूले अनौपचारिक रूपमा भनिसकेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया