सीसीटीभी फुटेज 'डिलिट' प्रकरण : ‘बदमासी लुकाउन अर्काे बदमासी’– प्रदीप ज्ञवाली

 असार २०, २०७९ सोमबार १८:५८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – बजेट बनाउने बेलाको सीसीटीभी फुटेज डिलिट गरेर अर्थ मन्त्री जनार्दन शर्माले ठूलै आर्थिक चलखेल गरेको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आरोप लगाउनुभएको छ । उपमहासचिव ज्ञवालीले बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएको सरकारले त्यसको सीसीटीभी फुटेज डिलिट गराएर अर्को जघन्य अपराध गरेको उपमहासचिव ज्ञवालीको दाबी छ । 

आज सोमवार संसद् भवन परिसरमा पत्रकारहरूमाझ उहाँले याे घटनाको सीसीटीभी फुटेज डिलिट भएको भनेर अर्थ मन्त्रालयले त्यसमा गम्भीर घोटाला भएको आफैँले पुष्टि गरेको जिकिरसमेत गर्नुभयो । उपमहासचिव ज्ञवालीले याे घटना अक्षम्य अपराध भएको उल्लेख गर्दै त्यसमा संलग्न अर्थ मन्त्री शर्मासहितलाई तत्काल छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने आफ्नो पार्टीको अडान रहेको पनि स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, ‘वास्तवमा यो दोहोरो अपराध हो । बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश र उनीहरूको उपस्थितिमा करका दरहरूको हेरफेर यो एउटा जघन्य अपराध त छँदैँ थियो । यो अपराधलाई लुकाउनका निमित्त त्यससम्बन्धी प्रमाण नष्ट गर्नका लागि साँच्चै नै सीसीटीभी फुटेज नष्ट गरिएको हो भने अर्को ठूलो अपराध हो । र यो ढङ्गको अपराधमा संलग्नहरूमाथि अविलम्ब छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ । फुटेज डिलिट भएको भन्ने तथ्यहरू बाहिर ल्याएर यसमा गम्भीर घोटाला भएको छ भन्ने, गम्भीर अनियमितता भएको छ भन्ने तथ्य स्वयम् अर्थ मन्त्रालयले पुष्टि गरेको छ । एउटा बदमासीलाई ढाकछोप गर्नका लागि अर्को बदमासी पनि गरिएको छ । याे अक्षम्य हो भन्ने हाम्रो मान्यता छ ।’

उपमहासचिव ज्ञवालीले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर जघन्य अपराध गरेको सरकारले त्यसको प्रमाण नै नष्ट हुने गरी सीसीटिभी फुटेज पनि डिलिट गरेको बताउनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया