नेपालका लागि स्विस राजदूतद्वारा बर्दियाका जनप्रतिनिधि र द्वन्द्व पीडितसँग भेट

 असार २२, २०७९ बुधबार १९:५७:९ | भावुक योगी
unn.prixa.net

बर्दिया – नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत एलिजावेथ भोन क्यापलरले द्वन्द्व पीडितको अवस्था पहिलेको भन्दा अहिले धेरै परिवर्तन भइसकेको बताउनुभएकाे छ । 

आज बुधवार स्विस राजदूत क्यापलरले बर्दियाको ठाकुरबाबा नगरपालिकामा जनप्रतिनिधि र स्विस परियोजनाका बारेमा गरिएको साक्षात्कार कार्यक्रममा यस्ताे बताउनुभएकाे हाे । द्वन्द्व पीडितका सामाजिक सुरक्षा, छात्रवृत्ति र निःशुल्क स्वास्थ्य बीमालाई अघि बढाउन सङ्घीय सरकारसमक्ष आफूले कुरा पुर्‍याउने समेत उहाँले बताउनुभयो ।

सङ्क्रमणकालीन न्यायका लागि सरकारले यसलाई नजिकबाट हेरिरहेको बताउँदै द्वन्द्व पीडितको न्यायका लागि सङ्घीय सरकारसँग पहल गर्ने र त्यहाँबाट पहल नभए अन्तर्राष्ट्रियस्तरमा समेत छलफल गर्ने राजदूत क्यापलरकाे भनाइ छ । द्वन्द्व पीडितले उठाएका माग पूरा गर्नका लागि सङ्घीय सरकारमार्फत एउटा कोष खडा गर्ने र त्यसमा नेपाल सरकार, अन्तर्राष्ट्रिय समुदायको पनि लगानी रहने र त्यो रकम पालिकासम्म पुग्ने गरी अनुदानहरू पठाउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

राजदूत क्यापलरले बर्दियाको ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकामा यसअघि सञ्चालित द्वन्द्व पीडितका लागि मनोपरामर्श तालिमको अवस्थाका बारेमा पनि बुझ्नुभएको थियो । उहाँले दुवै पालिकाका जनप्रतिनिधसँग पनि भेट गर्नुभयाे । 

कार्यक्रममा ठाकुरबाबाका मेयर तिलकराम लम्साल र उपमेयर विना भट्टराईले राजदूत क्यापलरलाई मायाको चिनो हस्तान्तरण गर्नुभयाे । 

स्विस परियोजनाको अवलोकनका लागि सुर्खेत र बर्दियाको भ्रमणमा रहनुभएकी राजदूत एलिजावेथ भोन क्यापलर शिष्टाचार भेटघाटपछि आजै बेलुकी काठमाण्डौ फर्किने कार्यक्रम छ । उहाँले हिजाे मङ्गलवार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढा क्षेत्रीसहित जनप्रतिनिधिसँग सुर्खेतमा शिष्टाचार भेटघाटको कार्यक्रम सकेर आज बर्दिया आइपुग्नुभएकाे हाे ।

अन्तिम अपडेट: चैत २७, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया