तपाईँ सीसीटीभीको निगरानीमा हुनुहुन्छ !

 असार २६, २०७९ आइतबार ८:३१:३४ | मिलन तिमिल्सिना
unn.prixa.net

कहिले हाँसेको हाँस्यै गर्छस्, कहिले रोएको रोयै गर्छस् । यस्तो रुञ्चे हाँसो किन हाँसेको ? 

खै, के भो के भो ! कहिले हाँस्न मात्रै मन लाग्छ, कहिले रुन मात्रै मन लाग्छ ।

देश, काल, परिस्थिति हेर्दा त यो रुन मात्रै मन लाग्ने बेला हो । तर, रुनुपर्ने बेला हाँस्छस्, हाँस्नुपर्ने बेला रुन्छस् । के अनर्थ हुन लाग्यो फेरि ।

हो त्यही अनर्थ भयो र त, रुनुपर्ने बेला हाँसो मात्रै लागिरहन्छ । 

कस्तो अनर्थ भनेको ?

कस्तो अनर्थ भन्नु, अर्थमा अनर्थ भो नि !

के भन्छ यो ? अर्थमा कसरी भयो त अनर्थ ?

कस्तो ट्युबलाइट हो तेरो दिमाग पनि । अर्थ भनेको धन, सम्पत्ति, ऐश्वर्य । न आफूसँग धन सम्पत्ति छ, न देशसँग । आफूसँग भएको धन सम्पत्ति पनि सकिन लाग्यो, देशसँग भएको ढुकुटी पनि सकिन लाग्यो रे । धन, सम्पत्ति नभएपछि ऐश, आराम र ऐश्वर्य कहाँबाट मिलोस् । अनि रुन्चे हाँसो आउँदैन त ?

देशको ढुकुटी जोगाउनकै लागि सरकार छ । मन्त्री छन् । मन्त्रालय छ । देशको अर्थतन्त्र बलियो छ भन्छन् । अर्थमा कसरी अनर्थ हुन सक्छ ?

अर्थका यी सबै कुरा अनर्थ भैसके ।

कसरी ?

ल सुन् । मन्त्री भनेको राज्यका कुनै विभागको सञ्चालन गर्ने वा त्यसको व्यवस्था मिलाउने प्रमुख मान्छे । तर उनीभन्दा माथि बिचौलिया हुँदा रहेछन् । अर्थतन्त्रको मन्थन गर्नुपर्ने मन्त्रीले बिचौलियाको मन्त्र सुन्दा रहेछन् । उनीहरुलाई जतिखेर पनि जुँगा मुसार्न मिल्ने गरी आफ्नो दारी कन्याउँदा रहेछन् । मन्त्री जस्तो मान्छे बिचौलियाको मन्त्रणामा लाग्दा अर्थको अनर्थ भएन त ?

त्यो त हो । अर्थको ठाउँमा व्यर्थ मान्छे । अर्थ न बर्थका मान्छे । कुनै खास अर्थ वा अभिप्रायः नभएको, बेकामको, बेमतलबकाे मान्छे ।

अनि अर्थनीतिमा पनि अनर्थ देखिन्छ । अर्थनीति भनेको सरकारले देशको अर्थसम्बन्धी कारोबार सञ्चालन गर्न राष्ट्रिय आय व्ययको सन्तुलन र स्थिरता कायम राख्ने दृष्टिले निर्धारण गरेको नीति वा प्रणाली । तर आय व्ययमा सन्तुलन र स्थिरताभन्दा असन्तुलन र अस्थिरता बढी छ । अर्थनीतिमै अनर्थ भएपछि देश कसरी उँभो लाग्छ ?

अर्थको अर्थ धनसम्पत्ति मात्रै होइन नि । अर्थ भनेको माने, मतलब, तात्पर्य, अभिप्राय पनि हो । तर अर्थ मन्त्रालयको अर्थमा अनर्थ लागेपछि माने, मतलब तात्पर्य र अभिप्रायको अर्थमा पनि अनर्थ घुस्न गयो ।

हैन दिमागको लेभलले भ्याउनै नसक्ने के कुरो गर्छ यो फेरि।

दिमागको लेभलले भ्याउन त अर्थनीतिदेखि राजनीतिसम्म बुझ्नुपर्छ नि बाबै । त्यति बुझ्न सिसीमा झोलको लेभल बढी हुनुपर्छ । सिसीको झोलको लेभल मिलेपछि दिमागको लेभलले पनि काम गर्छ ।

ल ल तँलाई नै बढी थाहा छ । मानेँ त मैले । तैँले भन्न खोजेको अर्थको अनर्थ चाहिँ के हो त ?

तँलाई सीसीटीभी भन्ने थाहा छ ?

किन थाहा नहुनु । सिसी पनि थाहा छ, टीभी पनि थाहा छ, सीसीटीभी पनि थाहा छ । सबैथोक थाहा छ ।

त्यसो भए सीसीटीभीले के गर्छ पनि थाहा होला ?

किन थाहा नहुनु । घरमा कुनबेला कस्तो चोर पस्यो भन्नेदेखि मन्त्रालयमा कुनबेला कुन कस्तो मुसो छिर्यो भन्नेसम्मका सबै कुरा सीसीटीभी हेरेर थाहा हुन्छ ।

त्यसो भए मन्त्रालयमा मुसो छिरेको कुरा सीसीटीभीले थाहा पायो त ?
पाएन । 

भनेपछि सीसीटीभी व्यर्थ भएन त ?

भयो । सीसीटीभीको अर्थमै अनर्थ लाग्यो ।

अनि नैतिकता र राजीनामाको अर्थ पनि थाहा होला ।

किन नहुनु । नैतिकताको आधारमा राजीनामा दिएको पनि भन्छन् नि बेलाबेला ।

अनि नैतिकताको आधारमा राजीनामा दिने भनेको के हो ल भन त ?

नैतिकता हुँदैमा छोड्ने भनेको नि ।

अनि अहिले नैतिकता छँदैमा राजीनामा आयो कि नैतिकता गुमेपछि ?

नैतिकता छँदैमा त कसले राजीनामा दिन्छ र ? सबैले नैतिकता गुमेपछि राजीनामा दिने त हुन् नि ।

अनि यसको पनि अर्थ मिल्यो त ?

मिलेन ।

यस्ता अर्थको अनर्थ खोजेर व्यर्थमा समय खर्च नगरौँ । अरुले थाहा पाए पनि के भन्लान् । ओहो ! हेर त त्यहाँ के लेखेको ?

के लेखेको छ र ? ए, ‘सावधान तपाईँ सीसीटीभी क्यामराको निगरानीमा हुनुहुन्छ ।’ अनि के भयो त यो लेखेर ।

अनि हामीले यस्तो अर्थ न बर्थको, अरुलाई अनर्थ लाग्ने कुरा गरिरहेको कसैले थाहा पाए भने हाम्रो चाहिँ अनर्थ हुने हो कि ?

व्यर्थमा किन टेन्सन लिएको ? कसैले सीसीटीभी हेर्न खोजेको थाहा हुनेबित्तिकै डिलिट हान्दिने नि । 

अनि डिलिट भएको फुटेज रिकभर भयो भने नि ?

फुटेज नै डिलिट गर्न सक्ने मान्छेको अघिल्तिर कसले रिकभर गर्ने आँट गर्न सक्छ ? बरु पद डिलिट गरेर हिँडेका मन्त्री रिकभर हुन सक्छन्, सीसीटीभी चाहिँ त्यस्तै हो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया