साहित्यिक पत्रिका 'गरिमा' को पुनः प्रकाशन सुरु

 असार २८, २०७९ मंगलबार १७:३८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साहित्यिक पत्रिका 'गरिमा' को पुनः प्रकाशन सुरु भएको छ । २०९ औँ भानु जयन्तीका अवसरमा साझा प्रकाशनले आज मङ्गलवार पुलचोकमा रहेकाे कार्यालय परिसरमा विशेष कार्यक्रम गरी गरिमा साहित्यिक मासिक पत्रिका प्रकाशन सुरु भएको जानकारी गराएको हो ।

नेपाली साहित्य जगतमा नै उच्च प्रतिष्ठा कमाएको गरिमाको प्रकाशन २०७५ मङ्सिरदेखि रोकिएको थियो । नेपाली साहित्यको प्रतिनिधि पत्रिकाका रूपमा २०३९ पुसदेखि प्रकाशन सुरु भएको गरिमा साहित्यिक मासिक साझा प्रकाशनको आर्थिक सङ्कटसँगै २०७५ कात्तिकमा पूर्णाङ्क तीन सय ९६ निस्किएर बन्द भएको थियो । आर्थिक सङ्कटका कारण गरिमा २०७५ मङ्सिरदेखि प्रकाशन हुन सकेको थिएन । गरिमाको वर्ष ३९, अङ्क एक, पूर्णाङ्क तीन सय ९७ लाई २०७९ साउन अङ्क मानिएको छ । भाषा–साहित्य, कला–संस्कृति र शिक्षाको विकास, विस्तार एवम् विविधिकरणमा शताब्दीभन्दा बढी ऐतिहासिक यात्रा पार गरेको साझा प्रकाशन विगत लामो समयदेखि राजनीतिक खिचातानीका कारण उत्पन्न परिस्थितिले सिर्जना गरेको चरम आर्थिक सङ्कट बेहाेद्रै आएको छ ।

कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले गरिमाको साउन अङ्क पुनर्विमोचन गर्नुभयो । विक्रम संवत् १९७० मा स्थापित गोर्खा भाषा प्रकाशिनी समिति १९९० मा नेपाली भाषा प्रकाशिनी समितिमा रूपान्तरित हुँदा यो दक्षिण एसियाकै पहिलो साहित्यिक–सांस्कृतिक संस्था बनेको थियो । तत्कालीन परिवेशमा साहित्य सेवा र पाठ्यपुस्तक निर्माण, प्रकाशन गर्ने नेपाली भाषा प्रकाशिनी समितिले २०२१ सालमा साझा प्रकाशनको नाममा उत्तराधिकारसहित निरन्तरता पाएको थियो । एक सय १० वर्षको इतिहास बोकेको साझा प्रकाशन आफूले गर्दै आएका कामबाट वञ्चित भएपछि अहिले गहिरो आर्थिक समस्या झेलिरहेको छ । ६० प्रतिशत शेयर नेपाल सरकारमा रहेको यस सहकारी संस्थामा १५ सयभन्दा बढी साहित्यकार, पत्रकार, कलाकार, शिक्षासेवी र संस्कृतिकर्मी शेयर सदस्य छन् । तर संस्था भने व्यावसायको माध्यमविहीन भएको छ ।

पहिले पाठ्यपुस्तक निर्माण र प्रकाशनमा केन्द्रित साझा प्रकाशनलाई सरकारी नीतिअनुरूप २०२८ सालपछि पाठ्यपुस्तक वितरणमा सीमित गरिएको थियो । देशव्यापी पाठ्यपुस्तक बिक्री, वितरणबाट हुने सीमित मुनाफालाई प्रकाशनको माध्यमबाट साहित्य सेवामा लगाएको साझा प्रकाशनलाई २०६९ पछि पाठ्यपुस्तक बिक्री, वितरणबाट वञ्चित गरिएको छ । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको प्रवीणता प्रमाणपत्र र पछि उच्च माध्यमिक शिक्षा परिषदबाट सञ्चालित कक्षा ११, १२ का अनिवार्य विषयका पाठ्यपुस्तक मुद्रण र बिक्री, वितरण गर्दै आएको थियो तर सरकारले २०७६ देखि यी कामबाट साझा प्रकाशनलाई वञ्चित गरेको थियो । 

गएकाे महिना शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभामा ‘कक्षा ११ र १२ का पाठ्यपुस्तक साझा प्रकाशनमार्फत मुद्रण र बिक्री, वितरणको व्यवस्था मिलाइएको’ जानकारी दिए पनि अहिलेसम्म मन्त्रालयबाट नै छपाइको आवश्यक प्रक्रिया अघि बढ्न सकेको छैन । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया