‘वित्तीय साक्षरता कक्षामा बसेपछि श्रीमानलाई साउदी फर्किन दिइनँ’

 असार ३१, २०७९ शुक्रबार १३:३५:२५ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

रिता पण्डित/भानु नगरपालिका-१२,तनहुँ

घरपरिवारको खर्च चलाउन मेरो श्रीमान वैदेशिक रोजगारीको लागि साउदी अरब जानुभएको थियो । साउदीबाट महिनामा पैसा पठाउनुहुन्थ्यो, त्यसैले घरखर्च चल्थ्यो । मलाई नि श्रीमानले पैसा पठाइरहनुभएको छ भन्नेमा ढुक्क थियो । आफूले पनि कमाइ गर्नुपर्छ भन्नेबारे खासै सोचिएको थिएन । तर त्यहीबेला गाउँमा सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गत वित्तीय साक्षरता कक्षा सञ्चालन भयो । वैदेशिक रोजगारीमा आबद्ध रहेका परिवारलाई लक्षित गरि सञ्चालित त्यस कक्षमा म पनि सहभागी भएँ ।

त्यो कक्षा लिइरहेको बेला श्रीमान बिदामा घर फर्किनुभएको थियो । वित्तीय साक्षरता कक्षाले रोजगारीका अवसर गाउँठाउँमै छन् भन्ने  सिकायो । विदेशमा जति कमाइ आफ्नै गाउँघरमा गर्न सकिन्छ भन्ने सिकायो । त्यसपछि मैले बिदामा घर आउनुभएका श्रीमानलाई विदेश नजानु भनेँ । यतै केही गरौँ भन्ने मेरो सल्लाह उहाँले पनि मान्नुभयो ।

त्यसपछि हामीहरुले तरकारी खेती गरौँ भनेर टनेल हालेर टमाटर रोप्यौँ । सुरुमै ठिकै कमाइ भयो । अहिले अरु टलेन पनि थपेका छौँ । बन्दा गोबी खुर्सानी लगायत अरु तरकारी पनि लाउने गरेका छौँ ।

टमाटर खेतीबाट आम्दानी राम्रै भइरहेको छ । एउटा टनेलले टमाटर बेचेर एक सिजनमा आठदश हजार रुपैयाँ कमाइ भइहाल्छ । योबाहेक घरमा खेती किसानी गर्ने हो । धान मकै पनि लगाउँछौँ । 

कक्षामा बसेर फाइदा भयो । तरकारी त पहिले पनि लगाउँथ्यौँ । तर त्यो आफैलाई खानको लागि हुन्थ्यो । त्यसैलाई बढाएर अलि लगानी थपेर व्यावसायिक रुपमा तरकारी खेती गर्दा आम्दानी पनि गर्न सकिने रहेछ भन्ने थाहा भयो । यस्तै विदेश जानेबारेमा पनि कसरी जाने के गर्ने भन्ने थाहा भयो । आफ्नो र परिवारको सुरक्षित भविष्यको लागि बिमा गर्नुपर्छ भन्ने थाहा भयो । अहिले सबैको बिमा गरेका छौँ । यी सबै कुरा वित्तीय साक्षरता कक्षाले नै सिकाएको हो ।

तरकारी खेती गरेरै मज्जाले जिविका चलाउन सकिँदो रहेछ । विदेशमा थोरै बढी कमाए पनि घरपरिवारसँग टाढिनुपर्दा त्यो कमाइको के अर्थ ? त्यसैले सँगै मिलेर आफ्नै गाउँघरमा आफ्नै व्यवसाय गर्दा विदेशमा कमाए भन्दा धेरै सन्तुष्टि मिल्छ । अब तरकारी खेतीलाई बढाउने योजनामा छौँ । श्रीमान् पनि यसमै रमाइरहनुभएको छ । अब उहाँलाई मैले विदेश पठाउँदिन ।


 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया