तपाईँ सीसीटीभी बिगारनीमा हुनुहुन्छ !

 साउन १५, २०७९ आइतबार ८:५३:४ | मिलन तिमिल्सिना
unn.prixa.net

अर्थमा अनर्थ गरे भनेर व्यर्थमा केही मान्छेहरु उफ्रिए । हातमा डाडुपन्यु बोक्नेले मौका पर्दा डाडुपन्यु नचाटेको कहाँ पो छ र ? मौकामा चौका हान्ने दाउ सबै कुरेरै बसेका छन्, तर आफैँ दाउ हेरेर बसेको जान्दाजान्दै पनि अर्थ न बर्थसँग बुरुकबुरुक गर्न छाड्दैनन् । यसरी बुर्कुसी मार्नु बेकार थियो भन्ने बल्ल पुष्टि भएको छ ।

तरमाराले तर खान्छन्, दरमाराले दर चाट्छन् करमाराले चाहिँ करमा पनि दर मिसाएर डर न भरसँग रहर पुग्ने गरी तीनपुस्तालाई पुग्ने गरि डकार्छन् । पुस्तौँदेखि चल्दै आएको र सबैले देखीजानेको चलन यही हो । दर र करमा एकैपटक हालीमुहाली गर्नेले त झन् के-के खान्छन् के-के । तिनै हालीमुहाली गर्ने ठाउँमा पुगेका मान्छेले दूधको तर र तीजको दर खाएझैँ मध्यरातमा करको दर क्वाप्पै खाए । मुख मिठ्याए, जुँगामा ताउ लगाए । कसैले देख्लान् कि भनेर पल्याकपुलुक यताउता हेरे । अनि दाह्रीजुँगा मुसार्दै हतारहतार बाहिर निस्के ।

मध्यरातमा खाएको तर र दर राम्रोसँग पुछिएनछ, भोलिपल्ट उज्यालोमा जुँगाभरि तर र कोटको खल्तीभरि दरको दाग देखियो । सबै मान्छेले हतपति देख्न नसक्ने जुँगाको दाग त्यसैगरी खान पल्केका र जानेकाहरुले पहिले देखे । त्यसपछि सिंहदरबारदेखि गाउँघरसम्म तर र दरको गन्ध फैलियो । तर र दरको लत्कोले मन्त्रीको दौरामा दाग लागेपछि अर्थकाले अनर्थ हुने भयो भन्दै ठाउँ छाडे । तर र दर खाएको प्रमाण देखाउन सके देखाउ भनेर छाती ठोके । भएका प्रमाण मेटाउनेहरुले धक्कु दिनेलाई सलाम ठोके । त्यसपछि जुँगा र नाकमा लागेको दाग मेटाउने खेल सुरु भयो । मन्त्रालयमा रातारात मुसा सलबलाउन थाले ।

एउटा मुसाले सीसीटीभीको तार काट्यो । अर्को मुसाले रेकर्ड भएको फुटेज टोक्यो । सीसीटीभीको छेउमा लेखिएको थियो – तपाईँ सीसीटीभीको निगरानीमा हुनुहुन्छ । मुसाले त्यसलाई मेटेर लेखिदियो – तपाईँ सीसीटीभी बिगारनीमा हुनुहुन्छ ।

मुसाको बिगबिगीबारे छानबिन गर्न बनेको समितिले तर र दर खाएको दिनको फुटेज माग्यो । सरकारी नियमअनुसार सीसीटीभी राख्नेले तीन महिनासम्म फुटेज सुरक्षित राख्नुपर्छ, कुनै सरकारी निकायले छानबिनको लागि मागेको बेला दिनुपर्छ । तर यही नियम बनाउने सरकारी निकायका कसैले मुख टाले, कसैले दुई हप्ताभन्दा धेरैको छैन भनेर कुरा टाले । सीसीटीभीको नियम बनाउनेहरुको मुलढोकादेखि नै – तपाईँ सीसीटीभीको निगरानी हुनुहुन्छ भन्ने पढ्दा तपाईँ सीसीटीभी बिगारनीमा हुनुहुन्छ भनेर बुझ्नुपर्ने भयो । 

सबैलाई राम्रैसँग थाहा छ, डिजिटल दुनियाँमा मेटिने र नासिने कुरै हुँदैन । मेटिएको र नासिएको पनि रिकभर हुन्छ । छानबिन समितिले रिकभरको लागि विज्ञहरुलाई गुहार्यो । विज्ञहरुले मेटिएको फुटेजलाई रिकभर गरेर देखाइदिए । तर, हेर्दा झिलिकझिलिक मात्रै । रिकभर भएन भनौँ भने भयो, भयो भनौँ भने के भयो के भयो ? सीसीटीभीमा मेटिएको कुरा रिकभर हुँदा कम्प्युटर, मोबाइलमा पहिले जस्तो थियो, त्यस्तै देखिन्थ्यो । तर यो कुरा करको थियो । करको तर खान गरेको दर परिवर्तन पचाउन मन्त्रालय पसेका मान्छेको मेटिएको अनुहार त जुँगा र दाह्रीले बिग्रिएको मुखभन्दा पनि बढी बिग्रिएको छ । मान्छे हो कि मुसो, फुटेज हो कि फुट्या चिज हो, केही पनि चिनिँदैन । किन यस्तो भयो भनेर सोध्दा रिकभर गर्ने विज्ञहरुले भने – कर, दर र तर मिलाएर खाने त्यति ठूलो बलवान मान्छे यति सानो क्लिपमा कहाँ देखिन्छ ? करको दर खाएर बलिया भएका मान्छेको क्लिप यस्तै हुन्छ, चिनिँदैन । मेटिएका अरु कुरा रिकभर गर्दा प्रष्ट देखिने तर बलवान मान्छेका अनुहार चाहिँ अस्पष्ट बनाउने विज्ञहरुको सर्टिफिकेटमा पनि अब – तपाईँ सीसीटीभी बिगारनीमा हुनुहुन्छ भनेर बुझ्नु पर्ने भयो ।

अब छानबिनको कुरा गरौँ । छानबिन भनेको खोजतलास गर्ने काम, राम्ररी तथ्य पत्तो लगाउने काम । तर छानबिन गर्छु भन्नेले न खोज गर्यो, न तलास । नाम मात्रैको सोध र समयको खलासमा अल्झियो । जुँगामा दाग लागेका मान्छेलाई ‘कस्तो नराम्रो दाग, पुछ्नु पर्दैन ?’ भनेर मात्रै सोधियो । दाग कहाँबाट कसरी लाग्यो भनेर खोजिएन । दाग लागेका मान्छेसँगै टाँसिएर बसेका अरुसँग पनि खास कुरो सोधिएन । न कल रेकर्ड हेरियो, न लोकेसन ट्रयाक । छानबिन र खोजतलास नै फास्सफुस्स । मध्यरातमा मन्त्रालयमै बसेर करको दर र दूधको तर खाने चोख्खिए । ठूलाबडाले खाएको तर, दर र कर हेरेर डर मानेकाहरु बिटुलिए । बिटुल्याउन पर्नेलाई चोख्याउने र चोख्याउन पर्नेहरुलाई बिटुल्याउने समितिलाई पनि भन्नुपर्ने भयो – तपाईँ त झन् सीसीटीभीको थिति बिगारनीमा हुनुहुन्छ !

अन्तिम अपडेट: बैशाख १२, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया