कर्णालीका १२ वटा पालिकाले अझै बजेट पेस गरेनन्

 साउन १९, २०७९ बिहिबार १४:३५:५६ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट – पालिकाले प्रत्येक आर्थिक वर्षको असार मसान्तसम्म सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको साइटमा बजेट पेस (अपडेट) गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । तर कर्णाली प्रदेशमा १२ वटा पालिकाले अझै मन्त्रालयको बेवसाइटमा बजेट अपलोड गरेको देखिँदैन । 

पालिकाले असार १० गतेसम्म गाउँ तथा नगर सभा गरेर असार मसान्तसम्म मन्त्रालयको बेवसाइटमा बजेट अपलोड गरिसक्नुपर्छ । तर कर्णाली प्रदेशको जुम्लाकाे चन्दनाथ नगरपालिका, पातारासी र हिमा गाउँपालिकाले बजेट अपलोड गरेका छैनन् । त्यस्तै सल्यानका कालीमाटी र छत्रेश्वरी गाउँपालिका, सुर्खेतको बराहताल गाउँपालिका, जाजरकोटका जुनिचाँदे, छेडागाड गाउँपालिका र नलगाड नगरपालिकाले बजेट पेस गरेका छैनन् । 

दैलेखका भैरवी, गुराँस गाउँपालिका र आठबीस नगरपालिकाले पनि बजेट पेस गरेका छैनन् । पालिकाले समयमै बजेट पेस नगरेर आफ्नो दायित्व र कर्तव्यबाट पछि हटेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्ता वसन्त अधिकारीले बताउनुभयो । देशभरका सात सय ५३ वटा पालिकामध्ये अझै एक सय १५ वटा पालिकाले बजेट पेस गरेका छैनन् । 

अन्तिम अपडेट: चैत २, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया