अवलोकन भ्रमणमा सिकेका कुरा पालिकामा लागू गर्ने जनप्रतिनिधिको प्रतिबद्धता

 साउन २०, २०७९ शुक्रबार २०:१:३३ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – थलारा गाउँपालिकाका जनप्रतिनिधिले अवलोकन भ्रमणमा सिकेका कुरालाई पालना गरी पालिकामा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

गएको साउन ६ गते पालिकाबाट नवनिर्वाचित जनप्रतिनिधि एक हप्ताको अवलोकन सिकाइ आदानप्रदान तथा भ्रमण गर्न कैलाली, कास्की, म्याग्दी, बाग्लुङ हुँदै मुस्ताङसम्म पुगेका थिए । थलारा गाउँपालिकाका कार्यपालिकाका सदस्य तथा कर्मचारीसहितको टोलीले मुस्ताङका धार्मिक एवम् पर्यटकीय, कृषि साथै पूर्वाधार क्षेत्रमा भएका गतिविधिको अवलोकन गरेका थिए । 

यस भ्रमणबाट धेरै कुरा सिक्ने मौका पाएको थलारा गाउँपालिकाका उपाध्यक्ष रामबहादुर खातीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मुस्ताङको भौगोलिक बनावटदेखि अन्य कतिपय विषय हाम्रो जिल्लासँग मिल्ने भएका कारण हाम्रो टोली मुस्ताङलगायतका जिल्लाको अवलोकन गर्न निस्किएको हो । मुस्ताङ धार्मिक तथा पर्यटकीय हिसाबले प्रख्यात जिल्ला हो । हाम्रो ठाउँमा पनि मठमन्दिरहरू छन् तर हामी धेरै पछि रहेको अनुभूति पायौँ ।’ जिल्लामा रहेका धार्मिक तथा पर्यकटीय क्षेत्रलाई मुस्ताङले जसरी प्रचारप्रसार गर्न सके पर्यकट भित्र्याउन सकिने र त्यसका लागि पालिकाको सिङ्गो टोली लाग्ने उहाँले बताउनुभयो । 

गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर रोकायाले पालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई पर्यटन बोर्डमा सूचीकरण गर्न सके आन्तरिक र बाह्य पर्यटक भित्रिने सक्ने बताउनुभयो । यस्तै अवलोकन भ्रमणबाट कृषि क्षेत्रका धेरै कुरा सिकेको अनुभव सुनाउनुभयो । ‘मुस्ताङमा पाइने फापर, जौँ, उवा बझाङमा पनि पाइन्छ तर लोप हुने खतरा बढेको छ । यसको संरक्षण तथा प्रवद्र्धन गर्न पहल चाल्छौँ’, उहाँले भन्नुभयो ।  

अवलोकन भ्रमण फलदायी रहेको थलारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिद्धराज पण्डितले बताउनुभयो । 

यसैबीच अवलोकन भ्रमणलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरिएको थियो । ती टिप्पणीको खण्डन गर्दै पालिकाले अवलोकन भ्रमणको औचित्य र यथार्थका बारेमा प्रेस विज्ञप्ति नै निकालेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया