देशको भविष्य सुनौलो बनाउने एसईईको जीपीए

 साउन २२, २०७९ आइतबार ७:५५:३४ | मिलन तिमिल्सिना
unn.prixa.net

लकडाउनको बेला नै ठिक थियो, कम्तीमा धेरैको लक त खुलेको थियो । अहिले लकडाउन छैन, त्यसैले मान्छेको लक पनि खुलेको छैन ।

हैन के कुरा गरेको ? लकडाउनमा कसको लक खुलेको थियो र अहिले कसरी बन्द भयो ?

कस्को लक रे ! एसईई दिने विद्यार्थीको नि ! अघिल्लो दुई वर्ष लकडाउन भएकाले परीक्षा भएन । विद्यालयले आफूखुशी बढाइचढाइ नम्बर दिए । धेरैभन्दा धेरै पास भए । सबैभन्दा धेरै ४ जीपीए ल्याउने नै ९ हजारभन्दा धेरै थिए । त्यसको अघिल्लो वर्षको लकडाउनमा ८ हजारभन्दा धेरैले ४ जीपीए ल्याए । यसपालि लकडाउन भएन, सरकारले परीक्षा लिँदा ४ जीपीए ल्याउने जम्मा ४२ जनामात्रै फेला परे ।

भनेपछि परीक्षा बोर्डले परीक्षा लिँदा धेरै नम्बर ल्याउनेको सङ्ख्या घट्यो, थोरै नम्बर ल्याउनेको सङ्ख्या बढ्यो । मतलब धेरै नम्बर ल्याउने कम, थोरै नम्बर ल्याउने धेरै । हुनुपर्ने जे थियो, त्यही भैदियो । 

कसरी हुनुपर्ने यही हुन्छ ? धेरै नम्बर ल्याउने विद्यार्थी धेरै भए पो राम्रो । धेरै नम्बर ल्याउनु भनेको राम्रो विषय पढ्नु हो । राम्रो विषय पढ्ने धेरै भए भने डाक्टर, इन्जिनियर, पाइलट, वैज्ञानिक धेरै हुन्छन् । यस्तो जनशक्ति धेरै भए पो देशको विकास हुन्छ । कुरा यसरी बुझ्नुपर्छ नि ।

ल यसले त बुझ्नुपर्ने कुरा नै बुझेको रहेनछ । धेरै नम्बर ल्याएर राम्रो विषय पढेर देशमै सेवा गर्ने कति छन् ? अति कम, नगण्य । धेरै नम्बर ल्याउनेलाई देशमा बस्नै मन लाग्दैन । जसोतसो विदेश पुग्न बल गर्छ । उता पुगेपछि उतै पढ्छ, उतै काम गर्छ, उतै बस्छ, उतैको सेवा गर्छ । यता घर पनि रित्तो, देश पनि रित्तो । 
राम्रो अङ्क ल्याएर देशमै पढ्ने र देशमै काम गर्नेहरु पनि छन् नि त ।

छन्, नभएका होइनन् । राम्रो अङ्क ल्याएर कोही डाक्टर भएका छन्, कोही इञ्जिनियर । डाक्टर पैसो विना बिरामी छुनै मान्दैन । इञ्जिनियर गिट्टी, बालुवा, सिमेन्ट, अलकत्रा हसुर्नमै मस्त छ । राम्रो पढ्ने अर्काथरी सरकारी कर्मचारी छन् । घुस नपाएसम्म ठुस्स भएर बस्छ, काम गर्नै मान्दैन । गोल्ड मेडलिस्ट कर्मचारीले खल्तीमा छ लाख हालेको कुरा त सुनेकै होलास् !

त्यो त हो, राम्रो अङ्क ल्याउने कि विदेशमा अर्काको सेवा गर्छ, कि आफ्नै देशमा आफूलाई मात्र मेवा खोज्छ । राम्रो अङ्क नल्याउने चाहिँ कि देश बनाउन आफ्नै घरको राडीमा पल्टन्छ, कि अर्काको देश बनाउन खाडीतिर ढल्कन्छ । खाडी पुगेर फेरि देश नै फर्कन्छ र घरमै बस्छ । विदेशमा उतै डुल्ने र भुल्नेभन्दा देशमै बस्ने र गएर पनि फर्कने मान्छे पो चाहिन्छ त हामीलाई ।

हो नि, त्यसमाथि धेरै नम्बर ल्याउने मान्छे नेता बन्नै खोज्दैन । बन्न खोजे पनि बाबुरामजस्तो बन्छ, आफ्नो आफैँलाई भर लाग्दैन । जति कम नम्बर, उति नेता बन्ने अवसर । जति धेरैको कम नम्बर, उति धेरै नेताको लस्कर । नेता भनेको देश बनाउने लाइसेन्स होल्डर । नेताले के सक्दैन ? सबैथोक गर्न सक्छ । रातारात मन्त्रालयमा आफ्नो मान्छे लगेर आफूले भनेअनुसारको देशको अर्थतन्त्र बदल्न सक्छ । त्यसरी अर्थतन्त्र बदल्ने मान्छे देखाउने सीसीटीभी फुटेज बदल्न सक्छ । त्यही फुटेज गायब पारेर फेरि मन्त्रालय फर्कन सक्छ । अरुको जेसुकै होओस्, आफ्नो लवाइखवाइ र बसाइ बदल्न सक्छ । गुन्द्रुक र मोही खाने मुखमा पिज्जा र विदेशी रक्सीको गन्ध मिसिन्छ । चार ठाउँमा तुना गाँसेको चप्पल लगाउने खुट्टामा विदेशी ब्रान्डको जुत्ता टल्किन्छ । झुप्रो रातारात महलमा बदलिन्छ । मात्र नेता बन्नुपर्छ, ठाउँ पाउनुपर्छ, उसको भाग्य चम्किन्छ । 

नेताको मात्रै भाग्य चम्किनु र अवस्था बदल्नु भनेको पनि नेपालीको जीवनस्तर उकासिनु हो नि । जति धेरै नेता हुन्छ, उति धेरैको जीवनस्तर उकासिन्छ । जीवनस्तर धेरैको उकासियो भने देश धनी हुन्छ । धेरै पढेर अर्काको देशमा जीवनस्तर उकास्नुभन्दा थोरै पढेर आफ्नै देशमा जीवनस्तर उकासिनु देशले काँचुली फेर्नु हो ।

हो हो त्यसैले देशमा धेरै नम्बर ल्याएर विदेश पलायन हुने भन्दा थोरै नम्बर ल्याएर देशमै मालामाल हुने जनशक्तिको खाँचो छ । यसको सुरुवात एसईईको नतिजाबाटै हुन्छ । अघिल्ला दुई वर्ष विद्यालयले धेरैलाई धेरै नम्बर दिएर देशको भविष्य बर्बाद पारे । यसपालि सरकार आफैँले धेरैलाई थोरै नम्बर दिएर देशको भविष्य सुन्दर बनाउने नयाँ अभियानको थालनी गरेको छ, देशलाई थप बर्बाद हुनबाट जोगाएको छ। 

अन्तिम अपडेट: चैत २६, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया