अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनकाे सदुपयाेग गर्नुपर्छ : अध्यक्ष ओली

 साउन २४, २०७९ मंगलबार १८:२३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपालमा वनको बहुआयाम रहेको उल्लेख गर्दै उहाँले वनको सदूपयोग गरेर देशमा रोजगारीको अवसर सिर्जना गर्न सकिने, विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ अघि बढाउन सकिने पनि स्पष्ट पार्नुभयो । 

सामुदायिक वन दिवसको अवसरमा आज मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालले सामुदायिक वनमार्फत विश्वलाई सकारात्मक योगदान पुर्‍याएकाे बताउनुभयाे । सामुदायिक वनको अवधारणाको माध्यमबाट नै नेपालमा वनको विनाश रोकिएको र त्यसै कारण कार्बन व्यापारको सम्भावनाको मार्ग पनि खुलेको अध्यक्ष ओलीले स्मरण गराउनुभयो । 

उहाँले भन्नुभयो, ‘विकासका लागि वन, समृद्धिका लागि वन, रोजगारीका लागि वन । वनका बहुआयाम छन् । ती सबै आयाम कसरी प्राप्त गर्ने ? वनको सुरक्षा हुनुपर्‍याे र त्यसको सदुपयोग पनि हुनुपर्‍याे । वनबाट राष्ट्रिय अर्थतन्त्रमा समेत बल पुर्‍याउने कुरामा जोड दिनुपर्दछ । सामुदायिक वनमार्फत राज्यलाई पुर्‍याउने योगदान, विश्वलाई पुर्‍याउने योगदान, सिङ्गो मानव जातिका लागि पुर्‍याउने योगदान पृथ्वीमै पुर्‍याउने योगदान महत्त्वपूर्ण छ ।’

अध्यक्ष ओलीले नेपाल वन र वनस्पतिहरूका लागि अनुकूल भूमि भएको उल्लेख गर्दै यसैको सदुपयोग गरेर अघि बढ्दा सिङ्गो मानवजातिकै हित हुने धारणा पनि राख्नुभयो । उहाँले केही समयअघि वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाशको काम सुरु भए पनि आफू नेतृत्वको सरकारले त्यसलाई रोकेर दिगो वन व्यवस्थापनको नीति अघि सारेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया